पाँच जिल्ला राजधानीका लागि उपयुक्त हुने समितिको ठहर

पाँच जिल्ला राजधानीका लागि उपयुक्त हुने समितिको ठहर


प्रदेश ३ को राजधानी तोक्ने विषयमा राजधानी सिफारिस गर्न गठित विशेष समितिले आज प्रदेश सभा बैठकमा आफ्नो प्रतिवेदन पेस गरेको छ । समितिका सभापति दीपक निरौलाले समितिको प्रतिवेदन सभामा पेस गरेका हुन् ।

निरौलाले सभामा पेस गरेको प्रतिवेदनमा प्रदेश ३ का लागि काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुर गरी ५ जिल्ला राजधानी तोक्न उपयुक्त हुने उल्लेख छ ।

प्रतिवेदन पेस गर्दै उनले राजधानीका लागि उपयुक्त हुने भनी सिफारिस गरिएको जिल्लाको जिल्लागत विवेचना र विश्लेषण पनि गरिएको बताए ।

निरौला समितिले संसदमा प्रतिवेदन पेस गरेसँगै अब प्रदेश सभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रतिवेदन बुझएपछि राजधानी सिफारिस गर्न गठित १३ सदस्यीय विशेष समिति विघटन भएको छ ।

उता हेटौँडालाई नै प्रदेश ३ को स्थायी राजधानी बनाउनुपर्ने भन्दै जनसरोकार केन्द्रले आज संसद सचिवालयअघि धर्ना दिएको छ । धर्नाकारीले हेटौँडालाई स्थायी राजधानी घोषणा नगरेसम्म आफूहरूको ध्यानाकर्षण जारी रहने बताएका छन् ।