गान्धीको १५०औँ जयन्ती दुई वर्षसम्म मनाइने !

गान्धीको १५०औँ जयन्ती दुई वर्षसम्म मनाइने !


गान्धी दर्शनको महत्व वर्तमान सन्दर्भमा अझ बढेर गएकामा जोड दिइएको छ । गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित ‘नेपालको शान्तिपूर्ण रुपान्तरणमा गान्धीको सान्दर्भिकता’ विषयक कार्यक्रममा प्रथम राष्ट्रपति डा. रामवरण यादवले गान्धीको योगदानको मूल्याङ्कन गर्दै संयुक्त राष्ट्र सङ्घले २ अक्टोबरलाई विश्व अहिंसा दिवसका रूपमा मनाउने निर्णय गरेको सुनाए ।

‘प्रकृतिलाई बचाएर अन्य काम गरिनुपर्छ भन्ने गान्धी दर्शनको मूल भाव हो, नेपालको चुरे विनाश भए तराई क्षेत्र मरुभूमि बन्छ । चुरे र तराईमा नेपालको जनसङ्ख्याको ६० प्रतिशत जनता बसोबास गर्छन् । चुरेको बीचबाट राजमार्ग बनाउनुु प्रकृति मैत्री हुँदैन,’ उनले भने ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भारतमा अहिंसाको जगबाट आएको प्रजातन्त्र दिगो भएको उल्लेख गर्दै गान्धीले स्वाधीनता र स्वराज्य मेरो हो भन्ने भावना झुपडीका जनतामा जगाएका, राजनीतिमा नैतिकताको प्रवेश गराएकाले विश्व नै एकदिन गान्धीको बाटोमा हिँड्न बाध्य हुने दाबी गरे ।

यस्तै, पूर्वसभामुख दमननाथ ढुङ्गानाले गान्धीले खराबीका विरुद्ध लड्ने अस्त्रका रूपमा सत्याग्रहलाई उपयोग गरेको स्मरण गरे । ‘जसका विरुद्ध लडिन्छ त्यसलाई घृणा नजगाई प्रेमपूर्ण तरिकाले गर्नु नै गान्धी दर्शन हो, नयाँ पुस्तामा गान्धी दर्शनको प्रसार गर्नु अहिलेको आवश्यकता बनेको छ,’ उनले ने ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप गिरीले नेपालमा राजनीतिक परिवर्तनपछि आधारभूत संरचनामा बदली हुन नसकेकाले एउटी किशोरीको बलात्कारको मुद्दामा राज्य किंकर्तव्यविमूढ बनेको औंल्याए भने केन्द्रका अध्यक्ष दीपकुमार उपाध्यायले दुई वर्षसम्म गान्धी जयन्ती मनाउने तयारी गरिएको बताए ।

कार्यक्रमका अतिथि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले गान्धीको अहिंसाको सन्देश फैल्याउन १५०औँ जन्मजयन्ती दुई वर्षसम्म विश्वभर मनाइने जानकारी दिए भने केन्द्रका महासचिव शेखर गिरीलगायतले गान्धीको योगदानको चर्चा गरेका थिए ।

(तस्बिर रासस)