ओलीलाई लेखिएको निवेदन किन प्रचण्डद्वारा प्रस्तुत भयो ?

ओलीलाई लेखिएको निवेदन किन प्रचण्डद्वारा प्रस्तुत भयो ?


पार्टीको आन्तरिक जीवनमा केपी ओलीको खाँटी समर्थकका रूपमा चिनिएका सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि मैदान खाली गरिदिन आफू तयार रहेको निवेदनसहित राजीनामापत्र प्रचण्डमार्फत दिएर अध्यक्ष केपी ओलीलाई आश्चर्यचकित पारिदिएका छन् । असोज २२ गते सोमबार बिहान बसेको नेकपा सचिवालयको बैठकमा प्रचण्डले रामवीरद्वारा दिइएको निवेदन प्रस्तुत गर्दा महासचिव विष्णु पौडेलबाहेक एमाले कित्ताका सबै नेताहरू छक्क परेका थिए ।

पार्टी अध्यक्षलाई सम्बोधन गरेर काठमाडौं ७ नम्बर निर्वाचन क्षेत्रका सांसद रामवीरले दिएको निवेदन सोझै केपी ओलीकहाँ प्रस्तुत नभएर किन प्रचण्डमार्फत बैठकमा पुग्यो र, रामवीरलाई उक्त कार्यका लागि कसले कसरी राजी गरायो भन्ने कुरा नेकपाभित्र खोजी र चासोको विषय बनेको छ । एक सूत्रबाट प्राप्त जानकारीअनुसार नेकपाका महासचिव विष्णु पौडेलले रामवीरलाई वामदेवका निम्ति पदत्याग गर्न राजी गराएका हुन् । ओलीको इच्छा र इसाराबेगर केही नगर्ने रामवीरलाई सम्झाइबुझाई गर्न प्रचण्ड र विष्णु पौडेल विशेष रूपमा लागिपरेको बताइन्छ । पौडेल स्वयमले भनिसकेपछि ‘हार्न नसकेर’ रामवीर वामदेवका निम्ति क्षेत्र छोड्न तयार भएको बुझिएको छ ।

केपीलाई सीधै निवेदन दिँदा सम्झाइबुझाई गरेर निवेदन फिर्ता गराइन सक्ने आशङ्का भएकोले प्रचण्डमार्फत अप्रत्यासित ढङ्गले सचिवालय बैठकमा निवेदन पु¥याइएको थियो । सचिवालयमा राजीनामासहित लिखित निवेदन नै पेस भइसकेपछि अब रामवीरले फिर्ता लिन नसक्ने विश्वास गरिएको छ । केपी ओलीका निम्ति आफ्नै पार्टीका नेता र कार्यकर्तालाई हातपात गर्न तयार हुने र अष्टलक्ष्मी शाक्य पार्टीको इञ्चार्ज भएर आउँदा उनलाई समेत हातपात गर्न तम्सने रामवीरलाई प्रचण्ड र पौडेलले के–कस्ता आशा देखाएर वामदेवका पक्षमा ल्याएका हुन् त्यसको रहस्य खुलिसकेको छैन । मानन्धरलाई राष्ट्रिय सभा सदस्य, केन्द्रीय समितिको सदस्य र मन्त्री बनाइने आश्वासन दिएको बताइन्छ ।

वामदेव यस कामका लागि दुई करोड रुपैयाँ लगानी गर्न तयार भएको र ढेढ वर्षपछि राष्ट्रिय सभाको सदस्य बनाइदिने प्रलोभन दिएर सांसदहरूलाई फकाउने गरिएको थियो । काठमाडौंमा एउटा सिनेमा हलका मालिकसमेत रहेका अति धनाढ्य कम्युनिस्ट नेता दुई करोडको प्रलोभनमा परेर बहकिएको पत्याउन कोही तयार देखिँदैनन् । भइरहेको पद छोडेर डेढ वर्षपछि मिल्ने पदको आश्वासन दिएकै भरमा उनी केपीलाई छोडेर वामदेवका पक्षमा जान कसरी राजी भए भन्ने जिज्ञाशा पनि प्रकट भएको छ ।

यस प्रकरणले विष्णु पौडेललाई एक ‘सफल’ राजनीतिक खेलाडीका रूपमा दर्शाएको मात्र छैन, केपी आफ्नै समर्थकहरूप्रति ढुक्क रहनुपर्ने अवस्था नभएको र पार्टीभित्र धमिरा लागिसकेको भन्ने पनि देखाएको छ । रामवीरको निवेदन प्रचण्डले पढेर बैठकमा सुनाउँदा केपी ओली स्तब्ध मुद्रामा चुपचाप बसेका थिए भने माधव नेपाल, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ छक्क परेका थिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो असहमतिका बुँदा प्रस्तुत गर्दै विदेश भ्रमणका क्रममा भएका उपलब्धिबारे जानकारी गराएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो अमेरिका भ्रमणबारे बैठकलाई विस्तृत जानकारी गराएका थिए । नेकपा सचिवालयको बैठक यही असोज २४ गते बुधबार बस्ने भएको र उक्त बैठकमा वामदेवको उम्मेदवारी तथा माधव नेपालको असहमतिबारे छलफल हुने बताइएको छ ।