भारतीय स्टिल उद्योगमा विस्फोट हुँदा नौजनाको मृत्यु

भारतीय स्टिल उद्योगमा विस्फोट हुँदा नौजनाको मृत्यु


भारतको मध्यक्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टिल कारखानामा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय राजधानी राईपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टिल प्राधिकरणअन्तर्गतको भिलाई स्टिल उद्योगको ग्यास पाइपलाइन विस्फोट हुँदा भएको घटनामा नौजनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएको भारतीय प्रहरी महानिरीक्षक जीपी सिंहले सञ्चारमाध्यमलाई बताए ।

विस्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

स्थानीय प्रहरीले अकस्मात् भएको विस्फोटबारे छानबिन समिति बनाइएको छ । अनुसन्धान पहिले विस्फोटबारे धेरै कुरा गर्नु र कुनै निर्णयमा पुगिहाल्नु छिटो हुने भएकोले यसबारे विस्तृत कुरा छानबिनपछि आउने सिंहले बताए ।

उक्त उद्योगमा चार वर्ष पहिले पनि विस्फोट भएको थियो । उक्त घटनामा चार श्रमिकको मृत्यु भएको थियो ।