इन्द्रेणी

इन्द्रेणी


indreniमान्छे तिमी थेत्तरो !– रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

मारी सत्र हजार मानिस ग-यौ विध्वङ्श नेपालमा
तिम्रै कर्तुतले भयो कति यहाँ आतङ्कको सिर्जना
खेदी मानिस गाउँका सहरमा बाँझो बनायौ जिमी
गर्दै छौ किन फेरि लाज नभई हुङ्कार ठूलो तिमी ? ।।१।।

भन्दै छौ दश वर्षमा अघि यहाँ पैmल्यो नयाँ चेतना
मान्छे देख्छु उही र संस्कृति उही, संस्कार उस्तै यहाँ
तिम्रै शासन हेरियो गजबको उल्टो चलेको गति
खोक्रो देश बनाई मस्तसितले आफ्नै सपा-यौ मति ।।२।।

गर्दा भौतिक वस्तु नष्ट यसरी आयो अँधेरो युग
बाढी भैंm महँगी अनाहक बढ्यो कालोबजारी अझ
गुण्डाको तब राज भो दिनदिनै सद्दे हराए कता ?
निर्धाको जुनी भासियो तल–तलै मान्छे डराए यता ।।३।।

कैयौँ अङ्ग, अनङ्ग भईकन सडे, कैयौँ भए घाइते
कैयौँ छन् विधवा र बालक, बूढा एक्ला बनेका अरे !
तिम्रै सैनिकको विजोग छ यहाँ बाँकी गरौँ के कुरो ?
गर्छौ भाषण फेरि लाज नभई मान्छे तिमी थेत्तरो ।।४।।

आमा–बाबु ह-यौ बनाई टुहुरा ती बाल–बच्चा जति
सिउँँदो सिन्दुरको उडाई विधवा नारी बनायौ कति ?
आँखासामु लुट्यौ सतित्व तिनको मारेर लाग्ने धरी
तड्पाईकन जिन्दगी घिटिघिटी सन्तान मा-यौ कति ? ।।५।।

जग्गा वा घर–बास नै लुटिलियौ आतङ्क चन्दा ग-यौ
झुट्टा फत्तुर लाउँदै युवकको प्राणै सफाया ग-यौ
बाँकी अन्न र वस्तुभाउ घरका खेती र पाती लुट्यौ
गोली दाग्न सिकाउँदै मुलुकका सन्तान सारा भुट्यौ ।।६।।

शान्ति क्षेत्र हुँदा विकास पथमा यो देश लाग्दै थियो
थोरै हो उपलब्धि तैपनि यहाँ स्वायत्त बन्दै थियो
केही ता हक पाई नागरिकले सन्तोष गर्दै थिए
बाँकी उन्नति गर्नमा सबजना तल्लीन बन्दै थिए ।।७।।

एक्कासि टुँडिखेलबाट किन भो ? त्यो युद्धको घोषणा
मान्छे मार्न लगाउने गजबको सङ्कल्प प्रस्तावना
भन्छौ के जनयुद्ध ? यो घृणित हो मान्छे विरोधी कुरो
सारा देश लग्यौ विनाश पथमा पापी तिमी थेत्तरो ! ।।८।।

तिम्रो पाप पखाल्न सक्छ कसले हे राष्ट्रघाती भन !
जाति द्वन्द्व झिकेर आज मुलुकै टुक्रा बनायौ किन ?
तिम्रो हैसियतै थिएन, पछि ता होला र के गौरव !
हुन्थ्यो नर्क भने अवश्य पनि ता पथ्र्यौ तिमी रौरव ।।९।।

तिम्रो भाषणले कटक्क मन यो छाती धरी फाट्दछ
तिम्रो त्यो अनुहार देखिन गए आतङ्क झन् बढ्दछ
तिम्रो नाम सुनेर मानिस उसै सम्झन्छ रे बाँदर !
उल्लू भई किन गर्दछौ घरिघरि त्यो व्यर्थ सम्मेलन ?।।१०।।

प्रायश्चित्त गरेर तैपनि तिमी आयौ भने धन्य छ !
होला कानुन पालना यदि गरे त्यो जीवनै सार्थक
साँढेवाद लिएर क्रान्ति नहुने संसारमै सिद्ध छ
मान्छे भैँm जति देखे पनि तिमी भित्री चुरो गिद्ध छ ।।११।।
– महाकवि देवकोटा आश्रम, काठमाडौं

फूल र काँडाको दूरी– जेबी खत्री
फूल र काँडाको दूरी
टाढा नभए पनि
सधँै टाढा भएझैँ
एक्ला–एक्लै मौन–मौन
काँडाबीच फुल्ने भएर पनि
फूल किन सधैँ मौन काँडासँग ?
सधैँ अलग–अलग
कहिल्यै नजिकिन चाहँदैनन् ।
एक–अर्कामा काँडा र फूल
न चाहन्छन् घच्चा लाउन
एक–अर्कालाई
तर पनि
मलाई सोध्न मन लाग्छ –
काँडालाई फूल हुनुको गर्व
बिर्सेर फूलको संसार
आफ्नो छुटै संसारमा
रमाएको देख्दा
फूल हाँस्दा काँडालाई
बिझाउँछ कि बिझाउँदैन ?
फूलको माया
काँडालाई भएजस्तै
फूललाई पनि
काँडाको माया
हुन्छ कि हुँदैन ?
काँडाले फूलको तिरस्कार
सहनुपर्छ कि पर्दैन ?

पुस्तक बजारमा मृतात्माको डायरी
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ आयामेली कवि वैरागी काइँलाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार धीर भण्डारीद्वारा लिखित नवीनतम् उपन्यासकृति ‘मृतात्माको डायरी’को विमोचन गर्नुभयो । विमोचनपछि मन्तव्यका क्रममा उहाँले भन्नुभयो, ‘इतिहास त धेरै लेखिन्छन् तर धीर भण्डारीले लेख्नुभएको ‘मृतात्माको डायरी’ औपन्यासिक ढाँचाको सामाजिक इतिहास हो,’ उहाँले अगाडि भन्नुभयो, ‘नेपाली राजनीति र ऐतिहासिक सन्दर्भलाई लिएर लेखिएका धेरै कृतिहरू भए पनि यति लामो कालखण्डलाई एउटै कृतिमा समेटेर लेखिएको औपन्यासिक कृति भने दुर्लभ छन् । यो कृतिले नेपालको इतिहासको ६० वर्षको इतिहास समेटेर, त्यसका उतारचढावहरूलाई देखाएर लेखिएको हुनाले यो नेपाली समाजको यस अवधिको सामाजिक इतिहास हो भन्दा फरक पर्दैन । यो उपन्यासको आकार र पृष्ठसङ्ख्या हेर्दा पश्चिमी साहित्यको युलिसिसको सम्झना आइरहेको छ । यस्तो महत्वपूर्ण कृति लेखेर भण्डारीले नेपाली साहित्यलाई ठूलो गुन लगाउनुभएको छ ।’
यसैगरी डा. जयराज आचार्यले धीर भण्डारीको यो उपन्यासले नेपाली राजनीतिको करिब ६० वर्ष लामो कालखण्डलाई समेटेको छ । आजका युवालाई नेपालको विगत बुझाउन र आगामी पुस्तालाई नेपाली समाज र राजनीतिको ऐना देखाउन यो उपन्यास सक्षम रहेको छ । यस अर्थमा मृतात्माको डायरी आजको सय वर्षपछिका पुस्तालाई पनि आफ्नो इतिहास कस्तो रहेछ सो जान्नका लागि अत्यन्त मूल्यवान् कृति हो भन्नुभयो ।
पुस्तकमाथि समीक्षात्मक मन्तव्य व्यक्त गर्दै प्रा.डा. कुलप्रसाद कोइरालाले विचारको परिपक्वतातिर बढिरहेका धीर भण्डारीको यो पुस्तकले नेपाली राजनीतिको यथार्थ देखाउनुका साथै त्यसमा सुधारका सम्भावनासमेत औँल्याएकाले नेपालको वर्तमान राजनीतिक जटिलतामा यसले दिने विचार अत्यन्त मूल्यवान् रहेको कुरा औँल्याउनुभयो ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले कृतिको चर्चा गर्दै ‘यो कृति वास्तवमा आजको बाटो बिराएको राजनीतिलाई कसरी सुधार्न सकिन्छ भन्ने दिशानिर्देश गर्ने र ००७ सालदेखि ०६९ सालसम्मका राजनीतिक उतारचढावलाई प्रस्तुत गर्ने कृति भएकाले यो एक सङ्ग्रहणीय र पठनीय कृति हो भन्नुभयो । डा. जयराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा सिक्किमका साहित्यकार प्रद्युम्न श्रेष्ठ, श्रवण मुकारुङलगायतको उपस्थिति रहेको थियो । पुस्तक ब्रदर बुक्सले प्रकाशन गरेको हो ।