राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।
आयोजनाले आज एक सूचनामार्फत एक अर्ब ५८ करोड रुयैयाँबराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण सेयर बिक्री गरिसकेको छ ।
यस्तै गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाई समेत साधारण सेयर बिक्री गरिसकेको छ । आयोजनाले दोलखावासीलाई एक अर्ब पाँच करोड रुपैयाँबराबरको साधारण सेयर बिक्री गरेको थियो । तेस्रो चरणमा आमसर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको आयोजनाले जनाएको छ ।
दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको आयोजना हो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना आगामी पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायीले तोकिएअनुसार काम नगर्दा केही समय पर धकेलिने अवस्था सिर्जना भएको हो ।
आयोजनाले आमसर्वसाधारणका लागि न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ ।
आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । निर्माण सामग्रीको ढुवानीमा देखिएको समस्याका कारण आयोजनाको निर्माण प्रक्रियामा केही शिथिलता आए पनि दशैँलगत्तै निर्माण कार्यले तीव्रता पाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया