साइना नेहवाल विवाहबन्धनमा बाँधिँदै

साइना नेहवाल विवाहबन्धनमा बाँधिँदै


लामो समयपछि चर्चित ब्याडमिन्टन खेलाडी साइना नेहवाल र पारुपल्ली कश्यपले आफ्नो प्रेम सम्बन्धलाई स्वीकार गरेका छन् । दुवैले आफ्नो प्रेम सम्बन्धलाई खुलासा गरेगलत्तै उनीहरूको विवाहबारे चर्चा हुन थालेको थियो । तर, साइनाले यी सबै अड्कल र अनुमानलाई सत्य साबित गर्दै आफ्नो सम्बन्ध र विवाहबारे ठूलो खुलासा गरेकी छिन् ।

साइनाले हालै टाइम्स अफ इण्डियामा दिएको अन्तर्वार्तामा आफू १६ डिसेम्वर २०१८ मा कश्यपका साथ विवाहबन्धनमा बाँधिन लागेको बताएकी थिइन् । उक्त विवाहमा सयजना अतिथिले सहभागिता जनाउने र २१ डिसेम्बरमा रेसेप्सन पार्टी हुने खुलासा गरेकी थिइन् ।

साइनाले २० डिसेम्बरदेखि प्रिमियर ब्याडमिन्टन लिगमा व्यस्त हुने र त्यसपछि टोकियो गेम्सको लागि छनोट चरण शुरु हुने भएकोले १६ डिसेम्बरमा विवाह गर्ने निर्णय गरेको बताइन् । त्यस्तै साइनाले आफू कश्यपसँग सन् २००७ देखि रिलेसनमा रहेको बताएकी छिन् । कश्यपसँग थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता सँगसँगै खेल्ने क्रममा सम्बन्ध गाँसिएको साइनाको कथन थियो । एकसाथ खेल्दा र प्रशिक्षणमा रहँदा करिअरका कारण आफूहरूले कहिल्यै पनि विवाहबारे नसोचेको साइनाले बताएकी छिन् । किनकि त्यसबेला विवाहभन्दा करिअर महत्वपूर्ण थियो ।

आफूहरूको विवाहबारे कमनवेल्थ गेम र एसियाली खेलकुद प्रतियोगिताअघि घरपरिवारमा चर्चा चले पनि कसैले पनि विवाहबारे कुनै दबाब नगरेको बताएकी छिन् । त्यतिबेला आफूहरू मौन रहे पनि अब विवाहका लागि तयार भएको बताउँदै यो विवाह दुवै परिवारको सहमतिमा हुन लागेको बताइन् । यतिबेला कश्यप सक्रिय खेलाडी भए पनि उनले प्रशिक्षणतर्फ पनि ध्यान दिएका हुनाले आफूलाई प्रशिक्षण गर्नमा पनि सहज हुने साइनाको कथन थियो ।

स्मरण छ, पूर्वविश्व नम्बर एक ब्याडमिन्टन खेलाडी साइना यतिबेला विश्व वरीयता क्रममा १०औँ नम्बरमा छिन् भने कश्यप ५७ नम्बरमा । कश्यप कुनै समय विश्वको छैटौँ वरीयता प्राप्त खेलाडी हुन् ।