बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ । राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को वर्षको वसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले जनाएको हो ।
‘राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,’ बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको एपीएफले जनाएको छ ।
राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ तारिखका दिन विवाह भएको थियो ।
राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए ।
वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटेका थिए ।
विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया मार्कलले सँगै जिउने वाचा गर्दै एक आपसमा औँठी साटेका थिए ।
सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरुले वैबाहिक जीवनमा रुपान्तरण गरेका बताइएको थियो ।
राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहनु भएका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रूपमा देखा परेको थियो ।
प्रतिक्रिया