रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoदम्पतीबीचको खटपटले घटाउँछ आयु
आफ्नो लाइफ पार्टनरसँग तपाईंको कत्तिको खटपट पर्ने गरेको छ ? अनावश्यक विषयमा पनि बहस चल्ने गरेको छ कि ? यस्तो हो भने आफूलाई परिवर्तन गर्नेतिर सोचिहाल्नुस्, किनकि दिनहुँको खटपटले पच्चीस वर्षमाथिका मानिसको असामयिक मृत्यु हुने खतरा अत्यन्त बढेर जाने शोधकर्ताहरूले दाबी गरेका छन् । एपिडेमियोलोजी (महामारी विज्ञान) र कम्युनिटी हेल्थ (सामुदायिक स्वास्थ्य)सम्बन्धी एक पत्रिकामा शोधकर्ताहरूले प्रकाशित गरेको रिपोर्टअनुसार दिनहुँको कचकचले पुरुष तथा बेरोजगार व्यक्तिमाथि धेरै खतरा पु¥याउँछ । निकटको सम्बन्धमा पैदा हुने समस्या र त्यसका कारण उत्पन्न हुने खटपट र कचकचले आयु निकै नै घटाउने अनुसन्धानले देखाएको छ । शोधले यो पनि प्रस्ट्याएको छ कि दबाब झेल्ने व्यक्तिका आ–आफ्नै क्षमता हुन्छन्, उसको व्यक्तित्वको आधारमा त्यस्तो समस्याले कसलाई कति प्रभावित पार्छ भन्ने कुरा निर्भर रहन्छ । कोपनहेगन विश्वविद्यालयको शोध–समूहले अनुसन्धानबाट पत्ता लगाएअनुसार दम्पतीबीच निरन्तरको बहस वा झगडाले मृत्युदर दुई, तीन या त्योभन्दा बढी गुणा पनि बढाउन सक्छ । बच्चा तथा परिवारको क्षमताभन्दा बढ्ता मागले उत्पन्न गर्ने अनावश्यक झन्झटले पनि मानिसको आयु घटाउन उल्लेख्य भूमिका खेल्दछ । सामान्यतया टेन्सनले मुटुको चाप (प्रेसर) बढाइदिने कुरा नौलो होइन, तथापि दम्पतीबीचको कचकचबाट यस्तो किन हुन्छ भन्नेचाहिँ अनुसन्धानकर्ताहरूले खुलस्त पार्न सकेका छैनन् ।

चौसट्ठी पुग्दा जुम्ल्याहाकी आमा
कुनै पनि बाबुआमाका लागि सबभन्दा अमूल्य चिज तिनका सन्तान हुन् । भरसक सन्तानले दुःख पाएको कोही देख्न चाहँदैनन् । यस्तो परिवेशमा बुढेसकालमा जवान सन्तानको निधन भयो भने वृद्ध बाबुआमाको हृदय कति छियाछिया होला ? हो, यस्तै परिस्थिति आइपरेको थियो चीनकी सेङ हेलिङ नामक वृद्धा र उनका श्रीमान्माथि । २९ वर्षीया हट्टाकट्ट छोरीको अचानक मृत्युले उनीहरू मरेतुल्य भएका थिए । त्यस घटनाले एक्लोपनको सिकार बन्दै गएका वृद्धदम्पतीलाई फेरि सन्तान जन्माउने विचार फुरेछ । सेङको उमेर नै साठी कटिसकेको थियो । तैपनि उनीहरूले बच्चा जन्माउने आश मारेनन् । जहाँ इच्छा त्याँ उपाय भनेझैँ उनीहरूलाई पनि उपाय सुझ्यो । पूरै कमजोर र सन्तान उत्पादनको सवालमा सोच्नै नसकिने ६४ वर्षको उमेरमा आईबीएफ प्रविधि अपनाएर भए पनि सेङ गर्भवती बन्न पुगिन् । केही महिनामा उनले बच्चा पनि जन्माइन्, त्यो पनि जुम्ल्याहा छोरी । एक छोरी गुमेको पीडामा मल्हम लगाउन दुई छोरी प्राप्त भएकोमा सेङदम्पती औधी खुसी छन् ।

ढलेको जवानी फेरि फिर्ता हुने
सधैँ जवान रहने इच्छा कसलाई नहोला ? बुढेसकालले घेर्दै जाँदा पैदा हुने दृष्टिको दोष, अल्जाइमर्सको अल्झो आदि समस्याबाट मुक्त रहने चाहना कोभित्र नहोला ? उमेर बढ्दै जाँदा प्राकृतिक तवरले आइलाग्ने बुढ्यौली अवस्थाबाट फर्किएर जवान बन्ने आकाङ्क्षा नराख्ने संसारमा कति होलान् ? हो यस्तै चाहना पाल्नेहरूको सपना साकार पार्ने दिशामा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई महत्वपूर्ण सफलता मिलेको छ । अमेरिकी वैज्ञानिकहरूको एक टोलीले यसबारे निकै ठूलो आशा जगाइदिएको छ । अमेरिकामा मुसामाथि गरिएको एक रिसर्चले जवान मुसाको रगतबाट बूढो मुसाको मसल्स र दिमागी क्षमतालाई पुनः जवान अवस्थामै फर्काउन सकिने पत्ता लागेको छ । यसरी मुसामा यो सम्भव हुन्छ भने मानिसमा किन हुँदैन भन्ने जिज्ञासाका साथ अध्ययनकर्ताहरूले काम सुरु गरेका छन् । स्टैनफर्ड युनिभर्सिटीको स्कुल अफ मेडिसिनका अध्येताहरूका अनुसार यदि मानिसमा पनि यो प्रयोग गर्ने हो भने सुखद परिणाम हासिल हुनेमा शङ्का छैन । यसबाट बुढेसकालमा सताउने अल्जाइमर्सलगायतका रोगका साथै मुटुका समस्याबाट पनि मुक्ति मिल्ने वैज्ञानिकहरूको दाबी छ । अनुसन्धानका क्रममा वृद्ध मुसाको शरीरभित्र जवान मुसाको प्लाज्मा (रगतको सेलका स्वतन्त्र अंश) हालिएको थियो । यसपछि त्यस वृद्ध मुसाको सक्रियता कुनै जवान मुसाभन्दा कम नदेखिएको अध्यताहरूलाई उद्धृत गर्दै नेचर मेडिसिन जर्नलले प्रकाशित गरेको छ ।

कुकुरको मासु खुवाउनेहरू कठघरामा
भुस्याहा कुकुरको मासु खुवाएर हजारौँ मानिसको स्वास्थ्यप्रति खेलबाड गरेको आरोपमा चीनमा ११ जनालाई सात वर्षको जेल सजाय तोकिएको छ । हुनान प्रान्तको एक अदालतले कुकुरको मासुमा केमिकल मिसाएर बिक्री गरेको मुद्दामा दोÈी पाइएकाहरूलाई जेल सजायका साथै ठूलो परिमाणमा जरिवानासमेत लगाएको हो । चिनियाँ सरकारी अभियोजन पÔले दाबी गरेअनुसार सन् २०१३ को सुरुतिर अभियुक्तहरूले एकै साथ करिब एक हजार कुकुरलाई मारेर त्यसमा अत्यधिक मात्रामा टक्सिन रसायन हालेर बेच्न सुरु गरेका थिए । यस कृत्यको सूचना पाउनेबित्तिकै उक्त धन्दामा संलग्न एघार व्यक्तिलाई प्रहरीले तत्काल पक्राउ गर्नुका साथै १२ टन कुकुरको मासु पनि जफत गरेको थियो । त्यसपश्चात् कानुनी कारबाही सुरु गरिएकोमा यतिबेला आएर अदालतले अभियुक्तहरूलाई सात वर्È जेल हाल्ने आदेश गरेको हो ।