पाठक मञ्च

पाठक मञ्च


pathakmanch‘राजनीतिक’ बनेर बिग्रियो महासङ्घ
सम्पादकज्यू,
घटना र विचार साप्ताहिकको गत वैशाख २४ गतेको अङ्कमा प्रकाशित ‘मान्छे तिमी थेत्तरो’ शीर्षकको मेरो कविता निम्नानुसार छन्दभङ्ग भएकाले मेरो ध्यानाकर्षण भएको छ । प्रायः छन्दका कविता व्याकरणभन्दा धेरै माथि छन्, तिनलाई व्याकरणका नियम लगाउनुहुँदैन । तत्सम शब्दबाहेक तद्भव शब्दहरूमा छन्दले मागेअनुसार ह्रस्व वा दीर्घ बनाउन पाइन्छ ।
उल्लेखित कवितामा बाह्रौँ पङ्क्तिमा जुनिको ठाउँमा जुनी, अठारौँ पङ्क्तिमा स्यूँदोको ठाउँमा सिउँदो, सत्ताइसौं पङ्क्तिमा पाइको ठाउँमा पाई, चालिसौँ पङ्क्तिमा उल्लू भैको ठाउँमा भई, चवालिसौँ पङ्क्तिमा देखिए पनिका ठाउँमा देखे पनि गरिएको रहेछ, यसले छन्दभङ्ग हुनुका साथै लयसमेत बिग्रेकाले ध्यानाकर्षण गरेको छु । त्यस्तै वैशाख १० गतेको अङ्कमा ‘नयाँ वर्षको शुभकामना’ शीर्षकको कविताको बाह्रौँ पङ्क्तिमा हजारौंथरिमा थरी, पन्ध्रौँ पङ्क्तिमा रातीमा राति, बीसौँ पङ्क्तिमा धरणिमा धरणी, चौबिसौँ पङ्क्तिमा पीरतिमा पिरती, छत्तिसौँ पङ्क्तिमा दिउँ भनीमा दिउँm भनी गरिएकाले यसले छन्दभङ्ग हुनुका साथै लय हाली गाउनसमेत नहुने भएकाले सम्पादकको ध्यानाकर्षण गरेको हुँ । भाषिक वा व्याकरणका हिसाबले शुद्ध भए पनि छन्दका हिसाबले भने गल्ती भएकाले पाठकको गुनासोलाई ध्यानमा राखी यति लेख्न बाध्य भएको अवगत गराउँछु ।
सोही अङ्कमा सम्पादक बबिता बस्नेतको लेख अत्यन्त सार्थक र सान्दर्भिक लाग्यो । वास्तवमा पत्रकार महासङ्घ गुटगतभन्दा पनि राजनीतिक झन्डागत हुनु पत्रकारिताको धर्मविपरीत भएको छ । म ०५९ मा काठमाडौं शाखाको सदस्य बनेको थिएँ । म कुनै राजनीतिक दलमा नभएकाले महासङ्घले मलाई सदस्यता नवीकरण गर्ने मौकासमेत नदिई यसपालि मतदानबाट वञ्चित गरिदियो । स्मरणीय रहोस्, ०६७ को साउनमा लड्दा शरीरले थिचिएर मेरो बायाँहातले काम गर्न नसक्ने भएको अवस्थामा ०६९ जेठ १५ मा शौचालय जाँदा लडेर दायाँहातको कुहिनाको गेडी एक इञ्च नै सरेकाले यसले पनि काम नगर्ने भयो । मेरो यस्तो विपतको घडीमा महासङ्घले मलाई खबरसम्म नगरी सम्मेलन गरेछ । अझ गोविन्दजीले त महासङ्घको उद्घाटन नै सञ्चार होइन गृहबाट गराएपछि बबिताजीको भनाइ सही ठहरिएको छ । पत्रकारिताजस्तो विषय पनि क्रान्तिकारी, प्रगतिशील, चौतारी हुँदोरहेछ भन्ने पढ्नुपर्दा अब पत्रकार महासङ्घका पदाधिकारीले पार्टीको झन्डा बोकेर चुनाव लड्दैनन् भन्न सकिँदैन । विशेषगरी कम्युनिस्ट भनिनेहरू यसभित्र पसेपछि महासङ्घ राजनीतिक दलजस्तो बनेको छ । अरू देशका कम्युनिस्ट राम्रै भए पनि नेपालका अपवाद कम्युनिस्टबाहेक अधिकांश फटाहाखालका भएकाले पत्रकारिता क्षेत्र पनि विकृत बन्ने सम्भावना बढेको छ । अहिलेको पत्रकार महासङ्घले सामाजिकभन्दा राजनीतिक कुरालाई बढी उठाउने गरेको छ । कुनै पार्टीप्रति प्रतिबद्ध नभएकै कारण हामीजस्ता पीडित पत्रकारले महासङ्घकै सम्मेलनको सूचना नपाउनु र दलसित आबद्ध (कम्युनिस्ट पत्रकार) ले नवीकरण नभए पनि मतदान गर्नु महासङ्घ निष्पक्ष नभएको प्रमाणित हुन्छ । प्रत्येक हप्ता म देवप्रकाश त्रिपाठीको लेख पढ्छु । उहाँका लेखहरू बौद्धिक, तार्किक र देशहितप्रति अत्यन्त संवेदनशील र गहन हुन्छन् । प्रत्येक हप्ताका उहाँका लेख पढ्दा धेरै ज्ञानबद्र्धक कुरा प्राप्त हुन्छन् । कतिपय लेख त मैले धेरैलाई पढेर सुनाएको पनि छु । वास्तवमा दलप्रति समर्पित रहेर पनि निष्पक्ष भएर लेख्न सक्नु त्रिपाठीजीको विशेष खुवी नै हो । चुनावपछि प्रचण्डबारे लेखिएको लेख त मैले फोटोकपि गरेर धेरैलाई बाँडँे पनि । अहिले म उहाँको लेखको फ्यान नै बनिसकेको छु । खेलकुद स्तम्भ पनि धेरै स्तरीय र रोमाञ्चक बन्न पुगेको छ । वास्तवमा अहिले घटना र विचार साप्ताहिक नेपाली पत्रकारिता क्षेत्रमै उच्चस्तरको पत्रिका बन्न सकेकोमा यसमा कार्यरत सबैप्रति म धन्यवाद दिन चाहन्छु ।
– रत्ननिधि रेग्मी (कवि एवम् ज्योतिर्विद्), महाकवि देवकोटा आश्रम, काठमाडौं