– जयप्रकाश
सुशील कोइराला नेतृत्वको गठबन्धन सरकारले सय दिन पूरा गर्दा प्रधानमन्त्री पिँजडाको बन्दी भएको महसुस काङ्गे्रसकै नेता र कार्यकर्ताले समेत गर्न थालेका छन् । पार्टीमा शालीन, साधारण जीवनशैलीका इमानदार र कार्यकर्ताको सबभन्दा सहज पहुँच भएका नेताका रूपमा स्थापित सुशील कोइराला प्रधानमन्त्री भएयता काङ्गे्रसकै नेता र कार्यकर्ताको पहुँचभन्दा बाहिरको व्यक्ति बन्नुभएको छ ।
कोइरालाले प्रधानमन्त्री बन्नुअघि सबैका लागि खुला गर्नुभएको फोन ९८४१४०९९२८ प्रधानमन्त्री भएयता उठाउन छोड्नुभएको छ । प्रधानमन्त्रीसम्म पुग्ने बाटाहरू अत्यन्त साँघुरो पारिएको छ । जसका करण कोइराला घन्टाघरको घडीजस्तै देखिने तर लगाउन नमिल्ने बन्नुभएको छ ।
प्रधानमन्त्री कोइरालाले महामन्त्री कृष्णप्रसाद सिटौलासँगको भेटघाट तथा परामर्शलाई भने निकै प्राथमिकता दिने गर्नुभएको बताइन्छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहनुभएको बेला तात्कालिक गृहमन्त्रीबाट राजीनामा माग्दै सिटौलाको सार्वजनिक रूपमै चर्को आलोचना गर्नुहुने सुशील कोइरालाले पछिल्ला वर्षहरूमा सिटौलालाई अधिक महत्व दिनुलाई अर्थपूर्ण रूपमा लिइन्छ ।
प्रधानमन्त्री कोइरालासँग अहिले सबभन्दा रुष्ट ती नेता बनेका छन् जसले सुशील कोइरालालाई विगत अढाई दशकदेखि निरन्तर साथ दिँदै आएका थिए । प्रधानमन्त्री बन्नुअघि संसदीय दलको नेता बन्ने क्रममा रामचन्द्र पौडेललाई कार्यवाहक सभापति बनाउने वचन दिएर पनि पूरा नगरेकोले पौडेल असन्तुष्ट बन्नुभएको छ । सुशील कोइरालालाई ‘सुशील’ बनाउन सधैँ समर्पित रहँदै आएका कुलबहादुर गुरुङ, तारानाथ रानाभाट, गोविन्दराज जोशी, लक्ष्मणप्रसाद घिमिरे, विनयध्वज चन्द, सुनिल भण्डारी, शिवराज जोशी, अर्जुननरसिंह केसी, तारिणीदत्त चटौत, सुरेश मल्ल, डा. शेखर कोइराला, डा. सशांक कोइराला, सूर्यमान गुरुङ, फर्मुल्लाह मन्सुर, दिलबहादुर घर्ती, चन्द्रसिंह भट्टराई, बलदेव शर्मा मजगैँया, पद्मनारायण चौधरी, मानबहादुर विश्वकर्मा, रामकृष्ण ताम्राकार, दिनबन्धु श्रेष्ठ, गणेशबहादुर खड्का र पुरुषोत्तम बस्नेतलगायतका नेता यतिबेला सुशील कोइरालाबाट टाढिएका छन् । सुशील कोइरालाका सहयोगी र हिमायतीहरूले उहाँ कसैको बन्दी बन्नुभएको महसुस गरेका छन् । कोइरालाका आलोचकहरू त त्यसै आलोचक छँदै छन्, आफ्ना सहयोगी तथा शुभचिन्तकसमेत टाढिएपछि प्रधानमन्त्री पदबाट बाहिरिएका बेला सुशील कोइरालासँग कोही नरहने सम्भावना बढेको छ । तीन महिनाको यस अवधिमा काङ्गे्रसका केन्द्रीय सदस्य, पार्टीको जिल्ला तहका अधिकांश नेता–कार्यकर्ताले प्रधानमन्त्रीलाई भेटेर आफ्ना गुनासा राख्ने मौका पाएका छैनन् । राजदूत, सचिव र स्वयम् सरकारमा सम्मिलित मन्त्रीहरूले समेत आवश्यक परेका बेला प्रधानमन्त्रीलाई भेट्न सक्दैनन् । कैयन दिनदेखि प्रधानमन्त्रीलाई भेट्न प्रयास गरिरहेका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले लगातार सात दिनसम्मको प्रयत्न असफल भएपछि समय नै नलिईकन बलजफ्ती (गेट क्य्रास गरेर) भेट्नुपरेको पाण्डेले आफ्ना निकटवर्तीहरूलाई सुनाउने गरेका छन् । अन्य मन्त्रीहरूका निम्ति पनि प्रधानमन्त्री कोइराला सहज उपलब्ध हुनुहुन्न । हप्तौँदेखि प्रयास गर्दा पनि प्रधानमन्त्रीलाई भेट गर्न नपाएपछि कैयन सभासद्, पार्टीका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूमध्ये केहीले ‘अब प्रधानमन्त्रीलाई भेट्दै नभेट्ने’ वाचा गरेकोसमेत पाइएको छ । यसरी भेटको अवसर नपाउनेहरू सबैले प्रधानमन्त्री कार्यालय र निवासको सचिवालयलाई दोषी ठानेका छन् । खासगरी कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालप्रति अधिकांशको गुनासो रहने गरेको छ । ढकालले फोन नउठाइदिने, उठाए पनि भेट्नसमेत नदिने र कदाचित समय मिलाएर खबर गर्छु भनी आश्वासन दिए पनि आफैँले दिएको वचनप्रति इमानदार नरहने गरेको आरोप मन्त्री, सभासद् र काङ्गे्रससम्बद्ध नेता–कार्यकर्तांले लगाउने गरेका छन् । उनीहरूको भनाइ छ, ‘प्रधानमन्त्रीलाई लक्ष्मण ढकालले आफ्नो मुठ्ठीमा कैद गरेका छन् । प्रधानमन्त्रीको सचिवालयमा रहेका वसन्त गौतम, अन्य सहयोगीहरूसमेत प्रधानमन्त्रीलाई सहज पहुँचभन्दा टाढा राख्न उद्यत् रहेको काङ्गे्रससम्बद्ध नेताहरूको भनाइ छ । तर, बालुवाटारनिकट एक सूत्रका अनुसार मुख्यसचिव वसन्त गौतम, परराष्ट्र सल्लाहकार दिनेश भट्टराई र आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालसमेतले प्रधानमन्त्री कोइराला कसैको बन्दी बन्नुभएको महसुस गरेका छन् । यस्तै स्थिति कायम रहेमा उनीहरूमध्ये सबैले या केहीले बालुवाटारबाट बिदा लिने निर्णय लिए भने कुनै आश्चर्य हुनेछैन । यति मात्र होइन, प्रधानमन्त्रीले राष्ट्रपतिलाई नियमित गर्नुपर्ने ‘ब्रिफिङ’समेत गर्न सक्नुभएको छैन । राष्ट्रपतिको व्यवहारबाट सबभन्दा रुष्ट बनेका तात्कालिक प्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल तथा माधव नेपालले नियमित भेटी राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गर्ने गर्दथे, तर सुशील कोइरालाले हप्तौँसम्म राष्ट्रपतिलाई नभेटेर आफू बन्दी बनेको सङ्केत मात्र गर्नुभएको छैन, उहाँले राष्ट्रपति संस्थाको उपेक्षा गर्नुभएको भन्ने टीका–टिप्पणी हुन थालेको छ । त्यसैले वास्तवमा प्रधानमन्त्री कोइराला कसको घेराबन्दीमा पर्नुभएको छ भन्ने आमजिज्ञाशाको विषय बनेको छ । धेरैले स्वकीय सचिव लक्ष्मण ढकालको कब्जामा प्रधानमन्त्री कोइराला पर्नुभएको ठानेका छन् । तर, स्वयम् कोइराला आफ्नै इच्छाले ‘बन्दी’ बन्नुभएको हुनसक्नेबारे कसैले अनुमानसम्म गरेका छैनन् । सधैँ सानो संसारमा रमाउनुहुने सुशील कोइरालाले प्रधानमन्त्री बनिसकेपछि पनि आफ्नो संसार फराकिलो तुल्याउन सक्नुभएन । त्यसैले उहाँ पिँजडाको बन्दीजस्तै देखिनुभएको छ । कार्यशैली र सोचमा तत्काल परिवर्तन नल्याउने हो भने देशको सबैभन्दा स्वच्छ छविका प्रधानमन्त्री सुशील कोइराला इतिहासको सबभन्दा असफल प्रधानमन्त्रीका रूपमा चिनिनुहुने खतरा बढेको छ ।
प्रतिक्रिया