नाइजेरियामा साम्प्रदायिक हिंसामा ५५ को मृत्यु

नाइजेरियामा साम्प्रदायिक हिंसामा ५५ को मृत्यु


नाइजेरियाली अधिकारीहरूले कडुनामा इसाई र मुस्लिम युवाबीच हिंसा भड्किएपछि २४ घन्टे निषेधाज्ञा (कर्फ्यु) जारी गरेका छन् । हिंसाका कारण कम्तीमा ५५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गभर्नर नासिर एल रुफाईले एक वक्तव्य जारी गर्दै परिस्थितिलाई काबुमा ल्याउन कडुना महानगर क्षेत्रमा राज्य सरकारले कफ्र्यु जारी गरेको बताए । उनले शान्ति कायम गर्न सबै स्थानीयवासीसँग आग्रह पनि गरेका छन् ।

हउसा मुस्लिम र अदारा इसाई युवाबीच यसै साता शुरु भएको साम्प्रदायिक हिंसाका कारण कडुनाको कसुवान मगानी बजारमा तनावको वातावरण उत्पन्न भएको थियो ।

बजारमा शुरुमा बिहीबार दुईजनाको हत्या गरिएको थियो । त्यसपछि नाटकीय रूपमा हिंसा फैलिएको थियो । अदारा युवाले त्यसपछि हउसा समुदायका घरघरमा आक्रमण गरेका थिए । उनीहरूले स्थानीयका घरमा आगो लगाउनुका साथै दर्जनौँको हत्या गरेका थिए ।

आफ्नो घर गुमाएका मगानीका बासिन्दा मुहम्मदु बालाले हउसा समुदायमा अधिकांश हत्या दोस्रो पटकको आक्रमणमा भएको जानकारी दिए ।

कडुनाका प्रहरी आयुक्त अहमद अब्दुर–रहमानले हिंसा फैल्याएको आरोपमा २२ जनालाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए ।

कडुना राज्य नाइजेरियाको उत्तरी भेगका बहुसंख्यक मुस्लिम र दक्षिणका इसाई बहुल क्षेत्रको बीचमा रहेको छ । यहाँ दुई सम्प्रदायबीच हिंसात्मक घटनाहरू भइरहन्छन् ।

फेब्रुअरीमा कम्तीमा १० जनाको ज्यान गएको थियो भने सयौँ घरमा आगजनी गरिएको थियो । सन् २००० र २००२ मा फैलिएको हिंसामा हजारौँ मानिस मारिएका थिए ।

नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले दुई सम्प्रदायबीच उत्पन्न असमझदारीले पटपटक मुलुकमा हिंसात्मक साम्प्रदायिक घटना हुने गरेको बताएको केही दिनभित्रै पछिल्लो घटना भएको हो ।