गणतन्त्रलाई अहिले नै केको शुभकामना ?

गणतन्त्रलाई अहिले नै केको शुभकामना ?


pathakmanchनेपाली राजनीतिक इतिहास हेर्ने हो भने देशमा प्रजातन्त्र आएको ६७ वर्ष भयो, ०७ सालको प्रजातन्त्र काङ्ग्रेसभित्रका बेइमान र कम्युनिस्ट नेताहरूलाई प्रयोग गरेर राजा महेन्द्रले दरबारिया शासन ल्याए, ०३६ साल वीरेन्द्र र सूर्यबहादुर मार्काले प्रजातन्त्रलाई हराइदिए, फेरि ०४६ सालको आन्दोलनले पुनस्र्थापित प्रजातन्त्रलाई दरबार हत्याकाण्ड, काङ्ग्रेसको अक्षमता, गुटबन्दी र एमालेको आपसी गुटबन्दी तथा प्रजातन्त्रभन्दा माथि भएर शासन गर्ने प्रवृत्तिका कारण ०६२÷६३ को आन्दोलनले गणतन्त्र ल्याइदियो । तर, बहुमतको निर्णय र अल्पमतको कदर हुने प्रजातन्त्रमा गणतन्त्रले न प्रजातन्त्र दियो न संविधान दिन सक्यो । त्यसैले गणतन्त्र दिवसलाई पङ्क्तिकारको अहिले शुभकामना छैन, प्रजातान्त्रिक संविधान, जनताको शासन र अब दोहो¥याएर प्रजातन्त्रको लागि नेपाली जनताले ज्यान गुमाउनु नपर्ने भएमा मात्र बधाई र शुभकामना सान्दर्भिक हुनेछ… !
इतिहासले भन्छ, कृष्णप्रसाद कोइरालाले सामाजिक र राजनीतिक परिवर्तनको शंखनाद गरे । जागिरे जीवनको क्रममा सिन्धुलीको दुम्जाबाट विराटनगर गएपछि उनले आफ्नी श्रीमती दिव्यालाई सामाजिक परिवर्तनको लडाइँ लड्नका निम्ति महिला समाजको स्थापना गर्न उत्प्रेरित गरे । नेपाली जनता कति गरिब र दु:खी छन् भनेर बुझून् भनेर थोत्रा, फाटेका र मैला कपडा गाउँलेको चन्द्रशमशेरलाई पठाएर उनले राजनीतक लडाइँ सुरु गरे । त्यसैको सजायस्वरूप उनी देश छोडेर भारत पस्न बाध्य भए । चन्द्रशमशेरको निधन नभएसम्म उनी र उनको परिवार नेपाल फर्केनन् । तिनै आदर्श पुरुष जसका तीन छोरा पछि नेपालको प्रधानमन्त्रीसमेत बने । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रेरणास्रोत उनै कृष्णप्रसाद कोइराला थिए भने लडाइँ लड्ने बहादुर छोराहरू मातृका, बिपी र गिरिजा थिए ।
राजा महेन्द्रले ल्याएको पञ्चायती व्यवस्था, त्यसपछि राजा वीरेन्द्रले ल्याएको सुधारिएको पञ्चायती व्यवस्था, अनि फेरि जनताले ल्याएको संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था ०४६÷४७, पछि दरबार हत्याकाण्ड एवम् तथाकथित १० वर्षे जनयुद्ध र ०६२÷६३ को जनताको आन्दोलनले दुई सय ४० वर्षको राजतन्त्र समाप्त गरी ल्याएको गणतन्त्र सबै प्रजातन्त्रकै लागि भनेर भए गरेका परिवर्तन थिए । यति लामो समयावधि प्रजातन्त्रकै लागि भनेर हामीले गुमाइसकेको तीतो अनुभव हुँदाहुँदै र कुनै पनि परिवर्तनले देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन नसक्नुमा नेपाली राजनीतिका खेलाडी नै कारकतŒव रहेका छन् भन्न अब हिच्किचाइरहनै पर्दैन ।
वास्तवमा भाषण र सत्ता–राजनीतिले त देश बन्दैबन्दैन, बरु यस्तो खेलले भएको पनि भत्किन्छ । भाषण र सत्ता–शक्तिको आजसम्म दुरुपयोग मात्रै भयो, फलत: नेता र पहुँच भएका टाठाबाठाबाहेक आमजनताको प्रगति हुन सकेन । देश पनि बेस्सरी पछिप¥यो । यसो हुनुको पछिल्तिर पङ्क्तिकारले निम्न कारणहरू फेलापारेको छ–
आजसम्मका सत्ता दक्षिणमुखी हुनुु, जनतामाथि शासन गर्नेले देशको उपेक्षा गर्नु या देशप्रतिको कर्तव्य बिर्सनु, आफ्ना नातागोता, परिवार र आसेपासेकै मात्र हित हेरेर काम गर्ने परिपाटी संस्कारकै रूपमा विकसित हुनु, देशभक्त र राष्ट्रवादी नेताको अभाव, भएकाको पनि विचार मात्र होइन भौतिक शरीर नै अपाङ्ग र शारीरिक रूपले नै समाप्त पारिदिनु, सुरुदेखि नै राजनीतिको प्रयोग र व्याख्या गलत हुनु, सबैजसो नेतामा आफूलाई प्रजातान्त्रिक भन्ने तर व्यवहार सामन्तीको जस्तो गर्ने रोगले छुनु, राजनीतिक संस्कार, मूल्य र मान्यतामा धोती लगाउनु, चाकरी, नातावाद–कृपावादले क्षमता भएकालाई पाखा पार्दै निरुत्साहित गर्नु, मूल्य–मान्यता र दायित्व बिर्सनु अनि सधैँ विचारको राजनीति नगरेर गुट र स्वार्थका लागि प्रयोग गर्नु–गराउनु ।
छिमेकी भारतसँगै प्रजातन्त्र आएको मुलुक, सिङ्गापुर र थाई एयरलाइन्ससँगै आकाश यात्रा सुरु गरेको देश, प्राकृतिक स्रोत अपार भएको देश, संसारको श्रीपेच सगरमाथाको देश, शान्तिका अग्रदूत गौतम बुद्ध र सीता जन्मेको देश, जलस्रोत मात्र उत्पादन गर्न सके विद्युत्को देश आज ‘होपलेस’ भएको छ । लाखाँै जनशक्ति कामका लागि विदेशिनुपरेको छ । देशमा कानुन छ– पालना छैन, सिस्टम छ– चलेको छैन । कृषिप्रधान देश– धान, चामल निर्यात होइन आयात गर्छ । यो सबैको जिम्मेवारी राजनीति र देशको शासन गर्नेहरू लिन तयार छैनन् । योभन्दा विडम्बना अरू के हुन सक्छ ?
पढेलेखेका विद्वान् कि विदेशिनुपरेको छ कि चाकडी नपुगेर, नातागोतामा नपरेर छायामा बसेका छन्, राजनीतिमा लागेका इमानदारहरू पाखा परेका छन्, सबै क्षेत्रमा असल मानिस पछाडि पर्दै छन् र देश नै विदेशीको गौचरण भएको छ । अब त सियोदेखि हवाईजहाजसम्म, फोहोर फाल्नेदेखि पिउने पानीसम्म र पढ्नेदेखि नपढ्नेसम्म सबै विदेशिन बाध्य हुँदै छन् । देशको दिनप्रतिदिनको यो दुर्दशाले पनि राजनीति गर्नेहरूलाई चेत फिराएको छैन । देशै नरहे केको गणतन्त्र ? किन र कसका लागि राजनीति ? वास्तवमा अहिले नै गणतन्त्रको शुभकामना भन्ने बेलै भएको छैन । त्यसैले गणतन्त्रलाई मेरो बधाई र शुभकामना छैन ।
– विश्वबन्धु प्रसाईं, हाल : यूएसए