पत्रकार हत्यामा साउदी अरबको ‘ढाकछोप’प्रति ट्रम्पको तिखो टिप्पणी

पत्रकार हत्यामा साउदी अरबको ‘ढाकछोप’प्रति ट्रम्पको तिखो टिप्पणी


पत्रकार जमाल खशोग्गीको हत्याबारेको साउदी अरबको प्रतिक्रिया आफूलाई बचाउन ढाकछोप मात्र भएको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन् ।

राष्ट्रपति ट्रम्पको त्यस्तो भनाइ आएको केही समयपछि विदेशमन्त्री माइक पोम्पेओले घटनामा संलग्न भएकालाई अमेरिकाले सजाय दिने बताएका छन् । पोम्पेओले सन्दिग्ध २१ जनाको भिसा अमेरिकाले रद्द गर्न लागेको पनि जानकारी दिए ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले ‘उनीहरूको एकदम नराम्रो सोचाइ रहेछ, त्यो एकदम नराम्रो तरिकाले गरे र इतिहासकै त्यो सबैभन्दा नराम्रो ढाकछोप रह्यो’ भन्ने प्रतिक्रिया दिएका छन् ।

यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो सत्ताधारी पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै पत्रकार जमाल खशोग्गीको ज्यान लिने योजना हत्या भएको दिनभन्दा निकै दिन अगाडि नै भएको आशङ्का व्यक्त गरेका थिए ।

उनले अक्टोबर २ गते इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र खशोग्गीको पूर्व नियोजित र ‘क्रुर‘ हत्या भएको भन्ने देखाउने टर्कीसँग बलियो प्रमाण रहेको दाबी पनि गरेका थिए ।

खशोग्गीको मृत्यु दुर्घटनावश भएको हुनसक्ने भन्ने सभावनालाई खण्डन गर्दै उक्त घटनाका सन्दिग्धहरू विरुद्ध इस्तानबुलमा मुद्दा चलाउने तयारी भएको उनको भनई छ ।

उता साउदी अरबले पनि पत्रकार जमाल खशोग्गीको हत्यारा जो भए पनि उसलाई कडा कानूनी सजाय हुने बताउँदै आएको छ ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा खशोग्गीको हत्यामा संलग्न जो कोही भए पनि उसलाई कानूनी दायरामा ल्याइने साउदी अरेबियाले जानकारी दिएको छ ।

खशोग्गीको इस्तानबुलस्थित साउदी अरबको महावाणिज्य दूतावासमा गत अक्टोबर २ मा हत्या गरिएको थियो । तर उक्त हत्या कसले र के उद्देश्यले गरेको थियो अझै अनुसन्धानको प्रक्रियामा रहेको छ ।