सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकुद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेश्रो हेलम्बु म्याराथनको उपाधि किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले ४ घन्टा ३२.३० मिनटमा पुरा गरेका थिए ।
उक्त म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान हासिल गरेका छन् । सुमनले उक्त दूरी ४ घन्टा ३८.४५ मिनटमा र सन्तोषले ५ घन्टा ५२.३० मिनटमा पुरा गरेका थिए । शीर्ष तीन स्थान प्राप्त गर्नेलाई क्रमशः २५, १५ र १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । यस्तै उत्कृष्ट पाँच स्थान हात पार्ने अन्य खेलाडीहरुले पनि जनही ५ हजार प्राप्त गरेका थिए ।
प्रतियोगिताअन्तर्गत नै भएको भेट्रान्सतर्फ गंगालाल तामाङले पहिलो स्थान हात पारे । उनले ४२ कि.मि.को दूरी ५ घन्टा २६.५० मिनेटमा पुरा गरका थिए । त्यस्तै भिमबहादुर गुरुङ ५ घन्टा ५०.४७ मिनेटका साथ दोश्रो र दावा जाङमु शेर्पा ६ घन्टा ४५ मिनटका साथ तेश्रो भए । उनीहरुले क्रमशः १० हजार, ८ हजार र ५ हजार प्राप्त गरेका थिए ।
म्याराथनको रुट हेलम्बु गाउँपालिकाको २४७४ मिटर उचाइमा अवस्थित कुटुङसाङबाट सुरु भई २५६० मिटर उचाइमा अवस्थित सेर्माथाङसम्म निर्धारण गरिएको थियो । फुल म्याराथनमा १८ पुरुष र ३ महिलाले सहभागिता जनाएका थिए ।
छात्र र छात्राबीच भएको ५ कि.मि.को दौडमा छात्रतर्फ सागर श्रेष्ठले बाजी मारे । उनले २४.११ मिनटनमा दूरी पुरा गरे । २४.४९ मिनेटका साथ दावा दोर्जे ह्योल्मो दोश्रो र २८.५३ मिनटका साथ प्रविन बोहरा तेश्रो भए । छात्रा तर्फ निमा डोल्मा ह्योल्मोले ३७.३३ मिनटका साथ पहिलो स्थान हात पारिन् । दोश्रो स्थानमा रहेकी श्रेशान सिल्पकारले ३७.४४ र तेश्रो स्थानमा रहेकी प्रकृती सुवालले ३८.१७ मिनटका साथ दूरी पुरा गरे । उत्कृष्ट शिर्ष तिनले नगद ५ हजार, ३ हजार र १ हजार प्राप्त गरेका थिए ।
प्रतियोगिताको ५ कि.मि. खुला तर्फको प्रतिस्पर्धामा पुरुषतर्फ पेम्बा टासी ह्योल्मोले २५.०७ मिनटका साथ पहिलो भए । यस्तै दावा लामा ३१.२६ र निनो शेर्पा ३२.२० मिनटका साथ दोश्रो र तेश्रो भए । महिला तर्पm एकल प्रतिस्पर्धा गरेकी रेखा बिष्टले २७.५० मिनटमा दूरी पुरा गरिन् । पहिलो, दोश्रो र तेश्रोले क्रमशः ५ हजार, ३ हजार र २ हजार प्राप्त गरे । म्याराथनसँगै पाँच किलोमिटरको वाकाथन आयोजना गरिएको थियो । त्यस्तै कल्चर र फुड फेष्टिबलको पनि आयोजना गरिएको थियो ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री विश्वकर्माले हेलम्बुकै चोकम्बो भन्ने स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापनाका लागि काम अघि बढिसकेको भन्दै त्यसका लागि १० लाख बजेट छुट्याइएको जानकारी दिएका थिए ।
स्थानीय छिरिङ लामाको एकल प्रयासमा तीन संस्करणसम्मको म्याराथन आयोजना भएको छ । लामा सन् २००५ को एभरेष्ट म्याराथनका विजेता हुन् ।
प्रतिक्रिया