म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एसियाली छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई कात्तिक ८ गते बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सातदोबाटोस्थित एन्फा भवनमा बिदाइ गरे ।
नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक, एक टोली नेता र एक व्यवस्थापक रहेका छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन् ।
नेपाली टोलीको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन् । नेपालले ८ नोभेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्ने प्रशिक्षक खड्काले जानकारी गराए । यस्तै, ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीले पहिलोपटक ओलम्पिक छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
यसअघि नेपाली टोलीले चीनमा तीनवटा मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले अक्टोबर २९ र ३१ तारिखमा बेइजिङ फोनिक्स महिला फुटबल टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । यस्तै ३० तारिखमा बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टोली नोभेम्बर २ तारिखमा चाइनाबाट म्यानमार प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गर्दै सदस्यसचिव विष्टले नेपाली महिला टोलीले पहिलोपटक प्राप्त गरेको अवसरलाई सदुपयोग गर्ने भन्दै टोलीले राष्ट्रको नाम उच्च राख्ने विश्वास व्यक्त गरे ।
नेपाली टोली कात्तिक ९ गते शुक्रबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
ओलम्पिक छनोटमा बिनाले निर्णायकको भूमिका निर्वाह गर्ने

नेपाली महिला फुटबलकी निर्णायक बिना श्रेष्ठले म्यानमारमा आयोजना हुने ओलम्पिक एसियन छनोट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएकी छिन् । उनी फिफा सहायक रेफ्री हुन् । बिनाले निर्णायक इलाइट परीक्षा उत्तीर्ण गरेकी छिन् ।
पहिलोपटक ओलम्पिक छनोटजस्तो ठूलो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने महिला निर्णायकमा बिना पहिलो रहेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए । इलाइट परीक्षा उत्तीर्ण नगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न नपाइनेसमेत महासचिव तुलाधरले जानकारी गराए ।
प्रतिक्रिया