अन्तर्राष्ट्रिय पदक दिलाउन कोरियन प्रशिक्षक नेपालमा

अन्तर्राष्ट्रिय पदक दिलाउन कोरियन प्रशिक्षक नेपालमा


नेपाल सफ्ट टेनिस संघको अनुरोधमा दुई कोरियाली सफ्ट टेनिस प्रशिक्षक चोई चोङ रियुल र पाएक ह्युन सिक दुई महिनाका लागि नेपाल आएका छन् ।

२०१८ को नोभेम्बर १८ देखि २५ सम्म मित्रराष्ट्र दक्षिण कोरियाको सन्चन सहरमा आयाजना हुने तेस्रो विश्व जुनियर सफ्ट टेनिस प्रतियोगिता र मित्रराष्ट्र भारतको गुजरातको अहमदाबाद सहरमा सन् २०१९ जनवरी ९ देखि १३ सम्म आयोजना हुने प्रथम दक्षिण एसियन सफ्ट टेनिस च्याम्पियनसिपलाई मध्यनजर राख्दै पदक हासिल गर्ने उद्देश्यले नेपाल सफ्ट टेनिस संघको अनुरोधमा कोरियन सफ्ट टेनिस संघले अन्तर्राष्ट्रिय प्रशिक्षकद्वयलाई नेपाल पठाएको संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघ (आईएसटीएफ)का महासचिव एवं एसियाली सफ्ट टेनिस महासंघ (एएसटीएफ)का उपाध्यक्ष विनयविक्रम शाहले जनाएका छन् ।


शाहका अनुसार सफ्ट टेनिस संघको पहलमा हाल नौलिन स्पोर्टस् भिल्ला सुन्दरबस्ती, गोल्फुटारको टेनिस कोर्टमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई बिहान ७ देखि ९ र नयाँ खेलाडीहरूका लागि ३ देखि ५ बजेसम्म प्रशिक्षण प्रदान भइरहेको छ ।

दुईमहिने बसाइको क्रममा कोरियाली प्रशिक्षकहरूले काठमाडौंलगायत विराटनगर, धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा र नेपाल प्रहरी स्कुल साँगामा प्रशिक्षण दिने अध्यक्ष शाहले जानकारी गराए । यो प्रशिक्षण कार्यक्रमले नेपाली खेलाडीको खेलस्तर बढ्नुका साथै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पदक हासिल गर्न मद्दत पुग्ने अध्यक्ष शाहले बताए ।