इथियोपियामा पहिलोपटक राष्ट्रपतिमा महिला निर्वाचित

इथियोपियामा पहिलोपटक राष्ट्रपतिमा महिला निर्वाचित


इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छिन् ।

दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको बताइएको छ । निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजीनामा दिएपछि ज्वदेले नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुने मौका पाएकी हुन् ।

दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडि नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सबै जनतालाई एकताको सूत्रमा बाँध्ने काममा आफूले जोड दिने बताइन् ।

उनले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेलेको भन्दै प्रशंसा हुने गरेको थियो ।

अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कूटनीतिज्ञका रूपमा चिनिन्छ । उनी विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूतसमेत बनेकी थिइन् ।

इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजीनामा स्वीकृत गरेपछि मात्रै ६८ वर्षीया ज्वदेलेलाई निर्वाचित गरेको थियो ।

सन् २०१३ को अक्टोबरमा राष्ट्रपतिमा निर्वाचित भएका ६३ वर्षीय टेसोम त्यसअघि टर्कीका लागि इथियोपियाका राजदूत रहेका थिए । उनले सरकारी उच्च अधिकारीका रूपमा र विभिन्न मन्त्रालयको मन्त्रीका रूपमा पनि जिम्मेवारी सम्हालिसकेका थिए ।