जोर्डनमा बाढीले बस बगाएपछि १७ विद्यार्थीको मृत्यु

जोर्डनमा बाढीले बस बगाएपछि १७ विद्यार्थीको मृत्यु


जोर्डनमा आएको भीषण बाढीले एक विद्यालयको बस बगाएपछि कम्तीमा १७ जनाको मृत्यु भएको छ । बाढीले एक विद्यालयको बस नै बगाएपछि त्यसमा सवार ३७ बालबालिका र सात कर्मचारी दुर्घटनामा परेका थिए ।

यस घटनाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेको उनका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

यस बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारजन र जोर्डन सरकारलाई उनले समवेदना व्यक्त गरेका उक्त विज्ञप्तिमा जनाइएको छ । उद्धारकार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यस बाढीको प्रकोपमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको र त्यसमा धेरैजसो सो विद्यालयका विद्यार्थी रहेका छन् । दुर्घटनामा परेका केहीलाई उद्धार गरिएको छ भने केही अझै बेपत्ता रहेका स्थानीय अधिकारीले बताएका छन् । बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ ।