जापान–चीनबीच २ अर्ब ६० करोड डलरबराबरका पाँच सयवटा व्यापारिक सम्झौता

जापान–चीनबीच २ अर्ब ६० करोड डलरबराबरका पाँच सयवटा व्यापारिक सम्झौता


जापानका प्रधानमन्त्री सिन्जो आबेको चीन भ्रमणका क्रममा शुक्रबार चीन र जापानबीच दुई अर्ब ६० करोड अमेरिकी डलरको व्यापार सम्झौता भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण व्यापारिक चुनौती र तनाव उत्पन्न भइरहेको अवस्थामा दुवै मुलुकबीच यो पछिल्लो सम्झौता भएको हो ।

एसियाका सर्वाधिक ठूला अर्थतन्त्र भएका यी दुई मुलुकबीचको सम्बन्धमा पछिल्ला वर्षहरूमा सुधार आएको छ । चीनका प्रधानमन्त्री ली केक्वाङसँगको द्विपक्षीय वार्तालगत्तै आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री आबेले यस क्षेत्रमा शान्ति र समृद्धिका लागि दुवै मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नेमा सहमति जनाएको बताए ।

जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन् २०११ यता पहिलोपटक भएको हो । दुवै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन् २०१२ देखि उच्चस्तरीय भ्रमण हुन सकेको थिएन ।

जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ ।

‘मेरो विश्वास छ नियमित व्यापारले जापानी र चिनियाँ जनताबीचको सम्बन्धमा थप प्रगाढता आउनेछ,’ प्रधानमन्त्री आबेले भने ।

त्यस अवसरमा चिनियाँ प्रधानमन्त्री लीले ‘अहिले, अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर छ, र अनिश्चितता बढ्दै गएको छ’ भन्दै मुलुकहरूबीचको पारस्परिक आर्थिक सहयोगले विश्वव्यापी खुला व्यापारको विकासमा मद्दत गर्ने बताए ।

प्रधानमन्त्री आबेका साथ जापानी कम्पनीसँग आबद्ध झन्डै एक हजार प्रतिनिधि सहभागी छन् । प्रधानमन्त्री लीका अनुसार उक्त टोलीसँग २ अर्ब ६० करोड डलरबराबरका पाँच सयवटा सम्झौता भएका छन् ।

दुवै मुलुकले आर्थिक सहयोगका क्षेत्रमा सुधार ल्याउने इच्छा देखाएका छन् । जापानका व्यवसायी चीनको ठूलो बजारमा पहुँच बढ्ने विश्वासमा छन् भने बेइजिङले जापानी प्रविधि र कर्पोरेट सञ्चालनसम्बन्धी ज्ञान हासिल गर्न चाहेको छ ।

चीनको राष्ट्रवादी रुझान राख्ने ग्लोबल टाइम्सले चीन–जापान सम्बन्धमा सुधार ल्याउन अमेरिकी प्रभाव सीमित रहेको जनाउँदै आगामी दिनमा बेइजिङ र टोकियोले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुअघि वासिङ्टनको विचारलाई आधार लिन थाले त्यो प्रभावकारी नहुने बताएको छ ।