ग्रीस र जापानमा भूकम्प

ग्रीस र जापानमा भूकम्प


ग्रीसमा शुक्रबार बिहान सबेरै ६.६ रेक्टर स्केलको भूकम्प गएको छ । ग्रीसको पट्रा शहरबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको स्थान यो भूकम्पबाट प्रभावित भएको छ ।

युरोपेली भूमध्यसागरीय भूगर्भ केन्द्रका अनुसार स्थानीय समयानुसार शुक्रबार बिहान २ः०० यो भूकम्प गएको थियो । यस भूकम्पको केन्द्रबिन्दु प्रभावित क्षेत्रको आसपासमा १० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

हालसम्म यस भूकम्पबाट मानवीय र भौतिक क्षतिको कुनै समाचार प्राप्त भएको छैन । विस्तृत विवरणको प्रतीक्षारत रहेको समाचारमा जनाइएको छ ।

यसैगरी उत्तरी जापानको होक्काइदो द्वीपमा आजै (शुक्रबार) ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो ।

यस भूकम्पको केन्द्रबिन्दु साप्पोरो शहरबाट ३७० किलोमटिर उत्तर–पूर्वी भूभागमा रहेको बताइएको छ । उक्त भूकम्पको केन्द्रबिन्दु ३० किलोमिटर गहिराइमा रहेको थियो । यस भूकम्पपछि सुुनामीको सूचना भने दिइएको छैन ।

जापानमा गत सेप्टेम्बर ६ मा होक्काइदो द्वीपमा गएको ६.७ रेक्टर स्केलको भूकम्पबाट ४१ जनाको मृत्यु हुनुका साथै ६५० भन्दा बढी व्यक्ति घाइते भएका थिए ।

जापानमा सन् २०११ मा गएको ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी व्यापक जनधनको क्षति भएको थियो ।

जापानको इतिहासमा सबैभन्दा शक्तिशाली मानिएको त्यस भूकम्पबाट १५ हजारभन्दा बढीको मृत्यु हुनुका साथै अन्य हजारौँ व्यक्ति घाइते वा बेपत्ता भएका थिए ।