रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2अब उड्ने ट्रकको पालो
यतिबेला अमेरिकी सेना एक यस्तो सवारीसाधनको विकासमा लागेका छन् जो जमिनमा ट्रकको काम गर्छ भने आवश्यक पर्दा हेलिकोप्टरझैँ आकाशमा उड्न पनि सक्छ । विश्वमै पहिलोपटक बनाइन लागेको यस मल्टिप्रपोजल भेइकलको आधिकारिक नाम ‘ब्ल्याक नाइट’ राखिएको छ भने सामान्य रूपमा यसलाई फ्लाइङ ट्रक भनिनेछ । अहिले परीक्षणकै क्रममा रहेको उक्त फ्लाइङ ट्रकको परीक्षण सफल भएमा केही महिनाभित्रै यसलाई मोर्चामा उतार्ने अनुमति मिल्नेछ । यस भेइकल निर्माणको जिम्मेवारी अमेरिकी सेनाले क्यालिफोर्नियाका ‘एडभान्स टेक्टिस’लाई दिएको छ, जुन कम्पनीले हालै जारी गरेको फ्लाइङ ट्रकको भिडियो भाइरल बन्न पुगेको छ । १९ घन्टा लगातार उडान भर्न सक्ने क्षमताको उक्त फ्लाइङ ट्रकको गति प्रतिघन्टा पाँच सय ४० किलोमिटर हुने र यसले हाल चार सय ५० किलोग्राम वजन उठाउन सक्ने भए पनि निकट भविष्यमै एक हजार पाँच सय असी किलोग्राम क्षमता पु¥याइने बताइएको छ ।

ग्राहक तान्ने यो तरिका
कुनै पनि व्यापारिक कम्पनीले आफ्नो उत्पादन बिक्री गर्नका लागि आकर्षक विज्ञापन दिन्छन् ता कि मानिस उक्त सामानतर्फ आकर्षित होऊन् । टेलिभिजन पर्दामा ‘न्युडिटी’ (नग्नता) प्रदर्शन गराएर प्रोडक्ट बेच्ने प्रतिस्पर्धा चल्नुको तात्पर्य पनि यही नै हो । तर, टीभी पर्दामा गरिने विज्ञापनले मात्रै चित्त नबुझेपछि यथार्थमै ‘नग्न मोडल’ उतारेरसमेत विज्ञापन गर्न थालिएको छ । यस्तो दृश्य हालै चीनको एक सहर फोसानमा नयाँ खुलेको रेस्टुरेन्टमा देखिएको ‘इचाइनासिटिजडटकम’ले जनाएको छ । समाचारमा जनाइएअनुसार फोसानमा एक यस्तो रेस्टुरेन्ट खुलेको छ जहाँ ग्राहकको स्वागतमा नग्न अवस्थाका मोडल युवती उभ्याइन्छन् । ती मोडललाई सेफले लगाउने टोपी पहि¥याइएको हुन्छ भने कपडाका नाममा अत्यन्त पारदर्शी एप्रोन लगाउन दिइन्छ । यसबाट युवतीको शरीर पूरै नाङ्गै देखिइरहेको हुन्छ । आफ्नो रेस्टुरेन्टमा ग्राहकको ताँती लगाउने उद्देश्यले महँगो शुल्क तिरेर मोडललाई नाङ्गै उभ्याइए पनि रेस्टुरेन्ट मालिकले भने सोचेभन्दा विपरीत नतिजा व्यहोर्नुपरिरहेको उक्त अनलाइनले जनाएको छ । आममानिसले ग्राहक तान्ने रेस्टुरेन्टको त्यस्तो प्रयासलाई पूरै भद्दा र अश्लील भन्दै आलोचना गरेका छन् ।

लोग्नेको लाससँग नौ महिना
उत्तरी अमेरिकाको इन्डियानामा एक महिलाले आफ्नो पतिको शवसँग नौ महिना बिताएर सबैलाई आश्चर्यमा पारिदिएकी छिन् । गेराल्ड फ्रेङ्कस् गेवन जुनिएर नामक ८८ वर्षीय एक पूर्वसैनिकको मृत्यु नौ महिनाअघि नै भएको रहेछ, तर उनको शव गत ३ मेका दिन मात्र सार्वजनिक भयो । आफ्ना मृत लोग्नेलाई नौ महिनादेखि पत्नीले सबैबाट छुपाएर आफू लासकै साथ रहँदै आएकी रहिछिन् । यो कुरा कहिलेसम्म रहस्यमै रहने थियो भन्न सकिन्न, मृतक गेराल्डका एक साथीका कारण घटनाको खुलासा हुन पुगेको हो । भएछ के भने आफ्नो अत्यन्त हितैषी मित्रका नाताले सँगै जन्मदिन मनाउनका लागि गेराल्डलाई ती व्यक्तिले खबर गर्न खोजेका रहेछन् । लगातार फोनमा सम्पर्क गर्न खोज्दा सम्भव नभएपछि उनले प्रहरीलाई खबर गरेछन् । उनको रिपोर्टअनुसार प्रहरीले खोजी गर्दा मात्र गेराल्डपत्नीले सबै कुरा खुलस्त गर्न पुगिन् । उनले दिएको बयानअनुसार मृत्युपछि आफूलाई खुला स्थानमा छोडिदिनु ता कि आफ्नो लासलाई चराचुरुङ्गी तथा अन्य जीव–जनावरले खान पाऊन् भन्ने चाहना गेराल्डले पत्नीसमक्ष व्यक्त गरेका थिए । पतिको इच्छा पूरा गरिदिने मौका हेर्दाहेर्दै नौ महिना बितेको उनले बताइन् । पहिलो पाँच दिन त उनी लोग्नेको शवसँगै टाँसिएर सुतिन्, तर पाँच दिनपछि लासबाट दुर्गन्ध आउन थालेपछि चाहिँ अलग्गै कोठामा सुत्न थालेको उनको भनाइ छ । उनका छिमेकीले समेत यस घटनाको कुनै सुइँको नपाएकोमा प्रहरीले समेत आश्चर्य व्यक्त गरेको छ ।

विज्ञापनका लागि तिघ्रा भाडामा
आर्थिक उपार्जनका निम्ति घरजग्गा, सवारीसाधनलगायतका सामग्री भाडामा लगाउने कार्य सामान्य हो । तर, यसप्रकारका कुनै सम्पत्ति नहुनेले पनि राम्रै कमाइ गर्न सक्ने रहेछन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् चीनको हुबेई प्रान्तका केही मोडल युवतीले । उनीहरूले आफ्नो तिघ्राका केही भाग एक व्यावसायिक कम्पनीलाई भाडामा उपलब्ध गराएका छन् । युवतीको तिघ्रामा आफ्नो कम्पनीका उत्पादनको विज्ञापन गर्ने र सोबापत मोटै रकम कम्पनीले युवतीलाई उपलब्ध गराउन थालेको छ । विज्ञापनका साथमा बार कोडको टाटुसमेत खोपाएर मोबाइलमार्फत स्क्यान गरी उत्पादनसँग सम्बन्धित सबै जानकारी उपलब्ध हुने व्यवस्था मिलाइएकाले कसैले मोबाइलद्वारा तिघ्राको तस्बिर खिच्न चाहे त्यसका लागि युवतीहरू सहर्ष तत्पर हुनुपर्ने कम्पनीको सर्त छ । सर्त मानेर दर्जनौँ युवती कर्मक्षेत्रमा उत्रिसकेका छन् ।