हुलाकमार्फत् अमेरिकामा विस्फोटक पदार्थ पठाएको आरोपमा पक्राउ

हुलाकमार्फत् अमेरिकामा विस्फोटक पदार्थ पठाएको आरोपमा पक्राउ


हुलाकमार्फत् संयुक्त राज्य अमेरिकामा विस्फोटक पदार्थ पठाउने घटनासँग सम्बन्ध भएको आरोपमा एक ५६ वर्षीय व्यक्तिलाई फ्लोरिडामा पक्राउ गरिएको छ ।

अमेरिकी अधिकारीहरूले पक्राउ परेका व्यक्तिको नाम सिजर सोयक भएको बताएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइए अनुसार सवारीसाधनका पार्टपुर्जा विक्री पसलबाट सोयकलाई पक्राउ गरिएको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान निकाय एफबीआईका निर्देशक क्रिष्टोफर रेका अनुसार शङ्कास्पद पदार्थ रहेको एउटा प्याकेजमा भएको औँलाका छापका आधारमा सोयकलाई पक्राउ गरिएको बताइएको छ । उनी आपराधिक पृष्ठभूमिका भएको विवरणहरूमा उल्लेख गरिएको छ ।

पछिल्ला केही दिन यता राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचकहरूलाई लक्षित गर्दै विस्फोटक पदार्थ पठाउने गरिएको थियो । प्रहरी नियन्त्रणमा लिइएका सोयकमाथि विस्फोटक पदार्थ पठाएको र पूर्वराष्ट्रपति लगायतका उच्च अधिकारीहरूलाई धम्की दिएको लगायत पाँचवटा अभियोग लगाइएको छ ।

विगत केही दिनयता पूर्वराष्ट्रपति बाराक ओबामा र अभिनेता रोबर्ट डी निरोसहितका मानिसहरूलाई १४ वटा त्यस्ता शङ्कास्पद विस्फोटक पदार्थ पठाइएका थिए । उक्त कार्यलाई राष्ट्रपति ट्रम्पले घृणित भएको र अमेरिकामा त्यसका लागि कुनै स्थान नरहेको बताउनुभएको भएपनि तत्कालै कसैलाई पक्राउ भने गरिएको थिएन ।

राजनीतिक रूपमा निकै ध्रुवीकृत भएको अमेरिकामा मध्यावधि चुनाव हुन अब दुई हप्ताभन्दा कम समय बाँकी रहेका बेला यी घटनाहरू भएका छन् ।