प्रार्थनाघरमा गोली चलाउँदा ११ जना यहुदीको मृत्यु

प्रार्थनाघरमा गोली चलाउँदा ११ जना यहुदीको मृत्यु


अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थनाघरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन् । अमेरिकी इतिहासमा यहुदी समुदायका व्यक्तिलाई लक्षित गरेर हत्या गरिएको यो सबैभन्दा ठूलो घटना हो ।

बच्चाको न्वारान (अर्थात् बच्चाको नाम राख्ने) कार्यक्रममा ‘ट्री अफ लाइफ’ नामको प्रार्थनाघरमा भेला भएका व्यक्तिहरूमाथि ४६ वर्षीय रोबर्ट वोअर्सले अन्धाधुन्ध गोली चलाएको प्रार्थनाघरमा रहेका व्यक्तिको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । ‘सबै यहुदी मर्नैपर्छ’ भन्दै रोबर्टले गोली चलाउन शुरु गरेका थिए ।

प्रहरीले बन्धुकधारीलाई घाइते अवस्थामा पक्राउ गरेको छ । उनीमाथि फौजदारी अभियोगसँग सम्बन्धित २९ वटा मुद्दा दर्ता गरिएको छ । संघीय अभियोजनकर्ताहरूले निशृंश हत्यामा संलग्न रोबर्टमाथि लगाइएका मुद्दाका आधारमा मृत्युदण्डसमेत हुन सक्ने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणमाथि गोली चलाएर भएको आमहत्याको भत्र्सना गरेका छन् । इलेनोइसमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले यहुदी प्रार्थनाघरमा भएको आमहत्या हामी सबैमाथि भएको जघन्य अपराध रहेको बताए ।

उक्त हत्याकाण्डको जर्मन चान्सलर एन्जेला मर्केल, राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसमेतका नेताहरूले निन्दा एवं भत्र्सना गरेका छन् ।

पिट्सबर्गको ट्री अफ लाइफ यहुदी प्रार्थनाघर स्क्वारेल हिलमा १५० वर्षअघि स्थापना भएको थियो । बहुसंख्यक यहुदी बसोबास गर्ने पिट्सबर्गमा यो प्रार्थनाघर सबैको आस्थाको केन्द्र हो ।

ब्रान्डिस विश्वविद्यालयले सन् २०१७ मा गरेको एक अध्ययनमा यहाँका ८० प्रतिशतभन्दा बढीले यहुदीविरोधी भावना बढ्दै गएकामा चिन्ता व्यक्त गरेको देखाएको छ ।