ट्रम्पले किन तिरस्कार गरे भारतको निम्तो ?

ट्रम्पले किन तिरस्कार गरे भारतको निम्तो ?


भारतको आउँदो गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा निम्त्याइएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत आउन नसक्ने जानकारी दिएका छन् । आउँदो वर्षको गणतन्त्र दिवस (२६ जनवरी) मूल समारोहको प्रमुख अतिथिका लागि भारतको तर्फबाट निमन्त्रणा गरिए पनि ट्रम्पले आउन नसक्ने जानकारी गराएका सिन्ह्वाले जनाएको छ ।

बताइएअनुसार भारतको तर्फबाट ट्रम्पलाई यही वर्षको अप्रिलमा निमन्त्रणा पठाइएको थियो । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भनाइ उद्धृत गर्दै जनाइएअनुसार अमेरिकी राष्ट्रपतिको पत्रमा, राष्ट्रपति ट्रम्पले आफू भारत आउन नपाएकोमा दुःख व्यक्त गरेका छन् ।

हालै रुससँग हतियार खरिद र इरानबाट खनिज तेलको आयातका कारण भारत र अमेरिकाबीचको सम्बन्धमा चिसोपन आएको छ ।

यसै क्रममा पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्वआदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

पाकिस्तानी सर्वोच्च अदालतका प्रधानन्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन् ।

पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग सम्बन्धित सामग्रीलाई लिएर विवाद उत्पन्न भएपछि सर्वोच्चको यस्तो फैसला आएको जनाएको छ ।

पाकिस्तानको सञ्चार माध्यम नियामक प्राधिकरण (पेमरा)का एक अधिकारीले प्रधानन्यायाधीश निसारले टिभी च्यानलमा सबै भारतीय सामग्री प्रसारण रोक्न आदेश दिएको जानकारी दिए । यो आदेश सबै भूसतही प्रसारण, भूउपग्रहीय प्रसारण र केबल च्यानलमा लागू हुनेछ ।

पाकिस्तानका केबल अपरेटर एसोसिएसनका अध्यक्ष खालिद आरेनले अदालतको आदेश ठीक नरहेको प्रतिक्रिया दिए ।

सन् २०१७ मा लाहोर उच्च अदालतले भारतीय टिभी कार्यक्रमहरुमाथिका प्रतिबन्ध फुकुवा गरेको थियो । विवादित काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच तनाब बढेसँगै अक्टोबर २०१६ मा अधिकारीहरुले भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाएका थिए ।