पत्रकार हत्याका आरोपीविरुद्ध साउदी अरबमै सुनुवाई हुने

पत्रकार हत्याका आरोपीविरुद्ध साउदी अरबमै सुनुवाई हुने


पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि साउदी अरबमा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले बताएका बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।

अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका १८ जनालाई सुपुर्दगी गर्ने सम्बन्धमा विदेशमन्त्री जुबैरले साउदी नागरिकहरूलाई साउदी अरबले पक्राउ गरेको र उनीहरूमाथि साउदी अरबमा नै अनुसन्धान हुने अभिव्यक्ति दिए ।

टर्कीका अभियोजनकर्ताहरूले पत्रकारको हत्यामा पक्राउ परेका सबै जनालाई टर्कीसमक्ष बुझाउन माग गरिरहेका समयसाउदी अरबका विदेश मन्त्रीको उक्त भनाई आएको हो ।

उनले हत्यामा संलग्न सबैजनालाई छुट नदिइने प्रतिबद्धता जाहेर गर्दै भने, ‘हत्यामा संलग्न व्यक्तिलाई कानूनी कठघरामा उभाएरै छाड्नेछौँ र यस्ता घटना भविष्यमा नघट्ने वातावरणको नागरिक तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रत्याभूत गराउनेछौँ ।’

साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूतावासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उनको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन ।

साउदी राजाले हत्या हुनुमा गुप्तचर निकायको पनि कमजोरी रहेको निष्कर्षका साथ केही उच्च पदस्थ अधिकारीलाई पदच्युत गरी संगठनको पुनः गठन गरेका जनाइएको छ ।