१८८ यात्रु बोकेको लायन एयर दुर्घटनाग्रस्त

१८८ यात्रु बोकेको लायन एयर दुर्घटनाग्रस्त


चालकदलका सदस्यसहित ११८ जना यात्रु लिएर उडेको इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक विमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको र उक्त जहाज समुद्रमा खसेको भेटिएको छ ।

भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । उडान नं. जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

उक्त विमान मान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो ।

इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताएका छन् । उनले राडारसँगको सम्पर्क टुट्नुअघि विमानले जकार्ता नै फर्कनका लागि अनुरोध गरेको समेत जानकारी दिनुभयो । तर जहाज फर्कन नपाउँदै जाभा समुद्रमा खसेको बताइएको छ ।

इन्डोनेसियाका हजारौँ द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षहरुमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।

गत अगष्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा आठ जना मारिएका थिए । त्यसबखत दुर्घटनामा एकजना १२ वर्षीय बालकमात्र बाँच्न सफल भएका थिए ।

अगष्ट २०१५ मा भएको अर्को दुर्घटनामा विमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०१४ मा एयर एसियाको विमान दुर्घटनाग्रस्त हुँदा १६२ जनाको ज्यान गएको थियो ।

इन्डोनेसियामा हाल सञ्चालनमा रहेको लायन एयर सस्तो बजेट एयरलाइन्स हो । यो विमान कम्पनीका जहाजहरु पटकपटक दुर्घटनामा परेको पाइएको छ ।

सन् २०१६ को मे महिनामा दुईवटा लायन एयरका बिमानहरु जकार्ताको सुकार्नो–हाट्टा विमानस्थलमा एकअर्कासँग ठक्कर खाएका थिए । सन् २०१३ मा एउटा लायन एयर जेट बालीको समुद्रमा खसेर दुर्घटनाहुँदा बिमान नै दुईटुक्रा भएको थियो । यो दुर्घटनामा कसैको मृत्यु नभएपनि धेरै यात्रु घाइते भएका थिए ।