खानी दुर्घटना हुँदा चीनमा १९ जनाको मृत्यु

खानी दुर्घटना हुँदा चीनमा १९ जनाको मृत्यु


पूर्वी चीनमा यसै महिनाको शुरुमा भएको एक खानी दुर्घटनामा १९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीयाँ सञ्चार माध्यमले जनाएको छ ।

सिन्ह्वाका अनुसार गत अक्टोबर २० मा कोइला खानीको सुरुङभित्र काम गरिरहेका मजदूर सुरुङको दुवैतर्फ ढुङ्गा खसेर थुनिएका थिए । हालसम्म एकजना मजदूर मात्रको उद्धार गरिएको छ भने अन्य दुई जनाको खोजी कार्य जारी छ ।

उक्त दुर्घटना शान्दोङ प्रान्तको लङ्ग्यून कोल माइनिङ कम्पनीको खानीमा भएको हो । चीनमा वर्षेनी खानीमा घातक दुर्घटनाहरु हुने गरेका छन् । डिसेम्बर २०१६ मा भएका दुईवटा खानी दुर्घटनामा कम्तीमा ५९ जना मजदूरको ज्यान गएको थियो ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा ३ सय ७५ जना मजदूरको मृत्यु भएको थियो । चीनमा अबैध कोइला खानी सञ्चालनका साथै सुरक्षाको भरपर्दो व्यवस्था नहुँदा ठूलो संख्यामा मजदूरको ज्यान जाने गरेको छ ।