–छविलाल बगाले
तिहार आउन अब केही दिनमात्रै बाँकी छ । तिहारलाई फूल र उज्यालोको महान चाडका रुपमा मनाइन्छ । यसैकारण पनि तिहारमा फूल र मैनबत्तीको प्रयोग धेरै हुन्छ । नेपालमा वार्षिक ७० लाख फूलको माला उत्पादन हुने गरेको तथ्यांक पनि छ । मागको तुलनामा उत्पादन बढेका कारण नेपाल पुष्प व्यवसायमा विस्तारै आत्मनिर्भर बन्न थालेको छ । फूलहरुको पर्व तिहारमा मात्र २२ लाख मालाको माग छ । उत्पादनकै हिसावले माग धान्न समस्या देखिदैन ।
यतिबेला सयपत्री र मखमली फूलले तिहारको स्वागत गरिसकेको छ । घरआँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूलले तिहारको रौनक पनि छाउन थालेको छ । पछिल्ला बर्षमा नेपालमा फूलको कारोबार पनि बढेको छ । प्रत्येक बर्ष १० देखि १५ प्रतिशतले फूलका उपभोक्तामा बृद्धि भएको छ भने बर्षेनी कारोबार रकममा पनि उत्साहजनक बृद्धि भएको छ । अघिल्लो बर्ष नेपालमा १ अर्ब ८६ करोड ७१ लाखका फूल बिक्रि भएको थियो । यसमध्ये भारतीय बजारबाट ११ करोडको माला आयात भएको थियो ।
कति हुन्छ त नेपालमा वार्षिक फूलको कारोबार ?
–आर्थिक बर्ष ०७०–७१ मा रु. १ अर्ब २७ करोड ७७ लाख
–०७१–७२ मा रु. १ अर्ब ३४ करोड १३ लाख
–०७२–७३ मा रु. १ अर्ब ५१ करोड ३९ लाख
०७३–७४ मा रु. १ अर्ब ७१ करोड २९ लाख
–०७४–७५ मा रु. १ अर्ब ८६ करोड ७१ लाख
नेपालमा दैनिक सरदर १७ देखि २० हजार माला खपत हुने गरेको तथ्यांक फ्लोरिकल्चर एशोसियशनसँग छ । संघका अनुसार गतबर्षको तिहारमा १७ लाख मालाको माग भएपनि यसबर्ष २२ लाख मालाको माग छ । यसमध्ये १५ लाख सयपत्री र ७ लाख मखमली र गोदावरीका माला रहेका छन् ।
नेपालबाट कति हुन्छ त फूलको निर्यात?
–आर्थिक बर्ष ०७०–७१ मा रु. ८४ लाख
–०७१–७२ मा रु. २५ लाख
–०७२–७३ मा रु. १ करोड ५० लाख
–०७३–७४ मा रु. ३ करोड
–०७४–७५ मा रु. २ करोड ५० लाख
आन्तरिक उत्पादनले फूलको माग पूरा गर्न सकिने भएपनि उपभोक्ताको रोजाईका कारण भारतीय उत्पादन समेत नेपालमा भित्रिने गरेका छन् । करिव १ सय ५५ हेक्टरमा व्यावसायिक पुष्प खेती भएको छ । पुष्प व्यवसायमा ४३ हजार ५ सयभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको तथ्यांक छ । अन्य बालीको तुलनामा फूलबाट मनग्य आम्दानी लिन सकिने भएपछि किसानहरु पछिल्लो समय व्यवसायिक फूल खेतितर्फ आकर्षित हुन थालेका छन् ।
प्रतिक्रिया