फ्रान्समा हिमवर्षा इटालीमा आँधी

फ्रान्समा हिमवर्षा इटालीमा आँधी


इटालीमा मंगलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको संख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

दक्षिणी तथा मध्ययुरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको संख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । हिमवर्षाका कारण यात्रामा हिँडेका सवारीचालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात बिताएका छन् ।

आँधीका कारण रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारीसाधन बीचमै अलपत्र परेका थिए ।

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरीका र व्यापक वर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन् ।

यसैगरी, फ्रान्सको उत्तरपूर्वी तथा मध्य दक्षिणी क्षेत्रमा मंगलबार रातभर व्यापक हिमवर्षा भएको छ । हिमवर्षाका कारण देशका विभिन्न भागमा विद्युत् आपूर्ति तथा सडक यातायातमा समस्या भएको छ ।

सडकमा एक्कासि परेको हिउँका कारण हजारौँ गाडी बाटामै अलपत्र परेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । हिमवर्षाका कारण यात्रामा हिँडेका सवारीचालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात बिताएका छन् ।

मंगलबार जमिनको सतहमा करिब ४० सेन्टिमिटरसम्म हिउँ जमेको प्रभावित क्षेत्रमा करिब दुई लाख घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको हाउटलोयरका मौसम मामिला हेर्ने निकायले जनाएका छन् ।

जमेको हिउँका कारण ठाउँठाउँमा रेल सेवा पनि अवरुद्ध भएको छ । फ्रान्सको राज्य सञ्चालित रेल सेवा कम्पनीले बाटोमा फसेका रेललाई हिउँ हटाएर बुधबार अपराह्नसम्म सञ्चालनमा ल्याउने पहल थालेको जनाएको छ ।

फ्रान्सको मौसम विज्ञान विभाग, मेटेओ फ्रान्सले उत्तरी तथा पूर्वी क्षेत्रमा रहेका मुलुकका पाँच क्षेत्रलाई हिमवर्षाका कारण सामान्य खतराको सूचीमा राखी सर्वसाधारणलाई सचेत हुन अनुरोध गरेका छन् ।