सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको सेयर बिक्री शुरु

सर्वसाधारणका लागि माथिल्लो तामाकोसीको सेयर बिक्री शुरु


माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले रु. एक अर्ब ५८ करोडबराबरको साधारण सेयर (आईपीओ) आजदेखि बिक्री शुरु गरेको छ ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण सेयर बिक्री र बाँडफाँड गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण सेयर बाँडफाँड गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । धितोपत्र निष्कासन छिटोमा यही कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मंसिर १४ गतेसम्म हुनेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । कुल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई सेयर बिक्री गरिसकेको छ । यस्तै, आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ गतेदेखि गत भदौ २१ गतेसम्म पहिलो चरणमा सेयर बिक्री गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारीलाई यसअघि नै सेयर बिक्री गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण सेयरतर्फ रु. १० अर्बबराबरको सेयर बिक्री गर्ने जनाएको छ । त्यसमा सञ्चयकोषका सञ्चयकर्तादेखि स्थानीयवासी र आमसर्वसाधारणसमेतको सेयरको हिस्सा रहनेछ । माथिल्लो तामाकोसी आयोजनाको बिजुली व्यावसायिक उत्पादनको लागि भने अझै एक वर्षजति कुर्नुपर्नेछ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले दोलखावासीले जस्तै सर्वसाधारणले पनि सेयरमा विशेष चासो राख्ने र धेरैभन्दा धेरै नागरिक सहभागी हुने अपेक्षा राखेको बताए ।