उपप्रधानमन्त्री पौडेलसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट

उपप्रधानमन्त्री पौडेलसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट


उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच वासिङ्टन डिसी (अमेरिका)मा भेटवार्ता भएको छ ।

भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

यसै क्रममा अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि भेटवार्ता गरेका छन् । त्यस अवसरमा वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको जनाइएको छ ।

उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताएका थिए ।

अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेल रहेका थिए ।

यसैगरी, उपप्रधानमन्त्री पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको धारणा राखेका छन् ।

विश्व बैंक र कोलम्बियाले संयुक्त रूपमा आज यहाँ आयोजना गरेको जैविक विविधता तथा प्राकृतिक वित्तसम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण नेपालको जलसम्पदा र प्राकृतिक विविधता संरक्षणमा चुनौती थपिएको बताए ।

जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान रहे पनि जलवायुजन्य समस्याबाट आफ्नो देश प्रभावित भएकाले वातावरणमैत्री अन्तर्राष्ट्रिय कोषको सहज पहुँचका लागि अन्तर्राष्ट्रिय निकायलाई उनले आग्रह गरे ।

मन्त्री पौडेलले जलवायु परिवर्तनका प्रभाव कम गर्ने उद्देश्यले स्थापित स्रोत साधनका संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिए ।

photo: rss