भारतको महाराष्ट्रमा १० महिनामा स्वाइन फ्लुबाट ३०२ मृत्यु

भारतको महाराष्ट्रमा १० महिनामा स्वाइन फ्लुबाट ३०२ मृत्यु


भारतको महाराष्ट्र राज्यमा यस वर्ष हालसम्म स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए । उनले भने, ‘राज्यमा यस वर्षको हालसम्म ३०२ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ । अस्पतालमा उपचार गराइरहेकामध्ये २२–२३ जनाको अवस्था गम्भीर रहेको छ ।’

उनले जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार ३७५ मानिस बिरामी भएको बताए ।

‘तैपनि, यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको हो । सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो । यो वर्ष स्वाइन फ्लुका बिरामी जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा बढी देखिएका थिए,’ आवटेले बताए ।

उनले मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताए । ‘मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनुपर्छ । यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ । रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ ।’

डा. आवटेले रुघाखोकी लागेका व्यक्तिहरू अरू मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँदै चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्ने बताए ।

उनले भने, ‘रुघाखोकी लागेका मानिस सार्वजनिक स्थलमा नगएको राम्रो हुन्छ । चलचित्र हेर्न हलमा पनि जानुहुँदैन । स्वाइन फ्लु भएका केवल ५ देखि ६ जना व्यक्ति मात्र उपचारका लागि अस्पतालमा भर्ना हुने गरेका छन् । अरू मानिसको घरमै उपचार गर्न सकिन्छ । तर, कुनै पनि औषधि सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनैपर्छ ।’