दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले उत्तर कोरियाली नेता किम जोङ अनले चाँडै सिओलको भ्रमण गर्ने बताएका छन् ।
गत सेप्टेम्बरमा प्योङयाङमा भएको दुवै नेताको दोस्रो शिखर बैठकका क्रममा उत्तर कोरियाली नेता किमले चाँडै दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो । तर, भ्रमणको समयबारे निर्णय भएको थिएन ।
तर, दक्षिण कोरियाली राष्ट्रपति मुनले यसै वर्ष किमले दक्षिण कोरिया भ्रमण गर्ने बताएका छन् । सांसदहरूको प्रश्नको बिहीबार जवाफ दिँदै मुनले शान्तिका लागि कोरियाली प्रायद्वीप ऐतिहासिक मोडमा पुगेको बताए ।
‘उत्तर कोरियाली नेता किम जोङ अनको रुस भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण चाँडै हुँदै छ,’ मुनले भने । उनले किम र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच पनि भेटघाट हुने सम्भावना बढेको बताए ।
राष्ट्रपति मुनले भने, ‘अध्यक्ष किम जोङ अनको सिओल भ्रमण चाँडै हुनेछ ।’ तर उहाँले भ्रमणबारे विस्तृत जानकारी दिएका छैनन् ।
कूटनीतिक पहल निकै बाक्लो भइरहे पनि सिओल र वासिंटनबीच पछिल्ला समयमा मतभिन्नता देखिन थालेका छन् । दक्षिण कोरियाको मित्रशक्तिका रूपमा रहेको अमेरिकाले उत्तर कोरियाको चुनौती सामना गर्न दक्षिणमा करिब २८ हजार ५०० अमेरिकी सैनिक तैनाथ गरेको छ ।
मुन, किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकमा अमेरिका र उत्तर कोरियाबीच कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न आणविक निशस्त्रीकरण गर्नेसम्बन्धी सम्झौता भएको थियो । तर, यो सम्झौतापछि खासै प्रगति भएको छैन ।
संयुक्त राज्य अमेरिकाले उत्तर कोरियामाथिका आर्थिक प्रतिबन्धहरू फुकुवा गरेको छैन । अमेरिकाले उत्तर कोरियाको आणविक निशस्त्रीकरणको भरपर्दो र विश्वसनीय आधार प्रस्तुत नगरेको भन्दै निरन्तर दबाब दिँदै आएको छ । उत्तर कोरियाले आर्थिक प्रतिबन्ध तत्काल फुकुवा गर्न अमेरिकासहित अन्य मुलुकसँग आग्रह गरिरहेको छ ।
अमेरिकी विदेश मन्त्रालयले यसै साता सिओल र वासिंटनबीच समन्वयात्मक कार्यहरूलाई थप गति दिन नयाँ कार्यसमूह गठन गर्ने सहमति भएको जनाएको छ ।
यसै महिना हुने अमेरिकी मध्यावधि चुनावपछि अमेरिका र उत्तर कोरियाबीच थप वार्ता र उच्चस्तरीय भ्रमण आदान–प्रदान हुँदै छन् ।
प्रतिक्रिया