आठौँ पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिकमा

आठौँ पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिकमा


नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कात्तिक २७ गतेबाट काठमाडौंमा हुने भएको छ । ०६८ सालबाट ऱ्याङकिङ प्रतियोगिताबाट शुरु गरिएको प्रतियोगिता आठौँ संस्करणसम्म आइपुगेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यू– १७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ वर्षमाथि) जोडी गरी ७ विधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।

करिब १२ लाख लागतको अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष–महिला एकलमा शीर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाणपत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार, युगलतर्फ २०, १० र ५ हजार प्राप्त गर्नेछन् । यस्तै यू– १७ तर्फ छात्र तथा छात्रा दुवैतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ५–५ हजारसहित मेडल, प्रमाणपत्र, ट्रफी प्राप्त गर्ने छन् । यसैगरी भेट्रान्सतर्फ विजयी शीर्ष तीन स्थानकाले मेडल, ट्रफी तथा प्रमाणपत्रका साथै खेलकुद सामग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।

नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिब दुई सय खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको सातौँ संस्करणमा पुरुष एकलमा सेनाका रत्नजित तामाङ, महिलातर्फ पूर्वाञ्चलकी जेसिका गुरुङ, पुरुष युगलतर्फ सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी तथा महिलातर्फ नङशल तामाङ र अनु राईको जोडी विजयी भएका थिए । यस्तै यू–१७ मा छात्रतर्फ सेनाका प्रफुल महर्जन र छात्रातर्फ पूर्वाञ्चलकी जेसिकाले बाजी मारेका थिए । यस्तै भेट्रान्सतर्फ धनकुटाका योगश्वर श्रेष्ठ र किरण प्रधानको जोडी पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो ।