पर्यटकीय गन्तव्यको सूचीमा माईपोखरी पनि

पर्यटकीय गन्तव्यको सूचीमा माईपोखरी पनि


सरकारले इलामको रामसार क्षेत्र माईपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माईपोखरीलाई सो सूचीमा सूचीकृत गरेको हो ।

माईपोखरीलाई छनोट गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित भएको सन्दकपुर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले बताए । माईपोखरी सन्दकपुर गाउँपालिका–१ र ४ मा अवस्थित छ । सार्वजनिक सूचना, अध्ययन र विज्ञको सुझावका आधारमा माईपोखरीलाई सूचीकृत गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए । छनोट भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवर्धनका लागि चालू आवमा रु. ५० लाख विनियोजन गरिएको छ ।

सदरमुकामबाट १३ किलोमिटरको दूरीमा रहेको माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सूचीमा सूचीकृत गरिएको हो । माईपोखरीमा बलिप्रथा निषेध छ । हिन्दू, बौद्ध, र किराँत मुन्धुम धर्मको आस्थाको केन्द्र माईपोखरीमा वैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठूली एकादशीका दिन विषेश पूजा र मेला लाग्छ ।

दुई हजार १२१ मिटरको उचाइमा अवस्थित माईपोखरी १२ हेक्टरमा फैलिएको छ । यहाँ सुनगोहोरो, लालीगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणी अवलोकन गर्न सकिन्छ ।