चीन भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार चीनका समकक्षीसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको मानिने चीनले पाकिस्तानलाई गर्ने लगानी र सहयोगमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ।
चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री खानले साउदी अरबको भ्रमण गरेर ठूलो आर्थिक सहयोगको सम्झौता गरेका थिए । पाकिस्तानका लागि चीन पनि पहिलेदेखि नै मुख्य सहयोगी राष्ट्र हो । पाकिस्तानमा चीनको ठूलो लगानी छ ।
दुई देशले चीन–पाकिस्तान आर्थिक करिडोर बनाउँदै छन् भने ‘बेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई)’लगायतका ठूला परियोजनामा पनि चीन र पाकिस्तानले सहकार्य गरेका छन् ।
बेइजिङमा भएको दुई शीर्ष नेताको भेटवार्ताका क्रममा दुई देशबीच उर्जा र यातायात सेवा विस्तार गर्ने बारेमा छलफल भएको एएफपीले जनाएको छ ।
भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले चिनियाँ प्रधानमन्त्री लि खस्याङलाई पाकिस्तान भ्रमणको निमन्त्रणा दिएका छन् । प्रधानमन्त्री इमरानले चीनको लगानी आकर्षित गरेर नै आफूहरुले देशको विकास गर्न सक्ने र त्यो पाकिस्तानको लागि राम्रो अवसर हुने बताए । चीनको सहयोगले मात्रै पाकिस्तान समृद्धितर्फ जान सक्ने र पाकिस्तानको जीवनस्तर र वृद्धिदर पनि बढाउन सकिने खानले दोहोर्याएका थिए ।
सो अवसरमा चिनियाँ प्रधानमन्त्री लिले पनि दुई देशको सम्बन्ध सकारात्मक रहेको बताउँदै सदाबहार साझेदार भएको टिप्पणी गरे भने पाकिस्तान सधै चीनको प्राथमिकतामा रहेको उल्लेख गरे ।
प्रधानमन्त्री खानले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई चाहिँ गत शनिबार नै भेटेका थिए । मुलुकको आर्थिक अवस्था नाजिक भएका बेला देशको नेतृत्व सम्होका पूर्वविश्व क्रिकेट खेलाडी खानले चिनियाँ राष्ट्रपति सीसँग पनि आर्थिक सहयोगकै बारेमा कुराकानी गरेका बताइएको छ ।
प्रतिक्रिया