पाकिस्तानको रापलपिण्डी शहरमा शुक्रबार धारिलो हतियारले आक्रमण गरी हत्या गरिएका पाकिस्तानी ‘तालिवान समूहका पिता’ मौलाना समी उल–हकको शनिबार अन्त्येष्टि गरिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समी उल–हकको हत्या छानविन गर्न निर्देशन दिएपछि मृतक अन्त्येष्टि गरिएको हो ।
८० बर्षीय समी उल–हक तालिवान समूहका आस्थाका धरोहर मानिन्थे भने उनको शुक्रबार राति एक अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
तालिवान धर्मगुरूलाई पाकिस्तानको राजधानी इश्लामावादबाट ११५ किलोमिटर टाढा रहेको उनकै गृहनगर आकोडा खट्टकमा इश्लामिक धार्मिक संस्कारअनुसार अन्त्येटि गरिएको बताइएको छ ।
पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनझिर भूट्टोको हत्याबारे सन् २०१० मा सार्वजनिक अनुसन्धान रिपोर्टले भूट्टोको हत्यामा संलग्न समूह घटनास्थल रावलपिण्डी जानुपूर्व उनकै धार्मिक आश्रममा बसेर गएका भन्ने खुलासा गरेको थियो ।
यसैबीच अफगानी तालिवान समूहले समी उल–हकको मृत्यु सम्पूर्ण इश्लामिक राष्ट्र (उमाह)हरूका लागि अपुरणीय क्षति भएको भएको शनिबार एक विज्ञप्ति जारी गरी जनाएको छ । उनले अफगानिस्तानमा तत्कालिन सोभियत सङ्घ र अमेरिका अतिक्रमणका क्रममा अविस्मरणीय सहयोग गरेका विज्ञप्तिमा जनाइएको छ ।
समी उल–हकको अफगानी तालिवानसँग कुनै संलग्नता नभएको भएपनि उनीहरूको आन्दोलनप्रति सहानुभूति रहेको थियो भने तालिवानका कैयौँ नेता तथा लडाकूले उनकै मदरसा पाठशालामा अध्ययन गरेका थिए ।
पाकिस्तानी सञ्चारमाध्यमले धर्मगुरू समी उल–हकको निधन अफगानिस्तानको शान्ति प्रक्रियामा एउटा झड्का सावित बन्ने बताएका भएपनि विश्लेषक यूसुफजाईले अफगानी शान्ति प्रक्रियालाई उनको मृत्युले प्रभाव नपार्ने बताएका छन् । अफगानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई एउटा समस्या सिर्जनाकर्ताका रूपमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया