आयोजक नेपाल सितोरियो कराते संघ, शाखा डोजो भारदेउले दोस्रो कोन्ज्योसोम खुला कराते प्रतियोगिताको उपाधि जितेको छ । भारदेउ ५ स्वर्ण, ६ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको थियो ।
ललितपुरको भारदेउमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कांस्यसहित प्रयागपोखरी डोजो दोस्रो भयो । तेस्रो स्थानको काभ्रेले ४ स्वर्ण, ३ रजत र १ कांस्य जितेको थियो ।
प्रतियोगिताको पुरुषमा थिमी डोजोका शिरीष श्रेष्ठ तथा महिलामा आयोजक भारदेउकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी चुनिए । पुरुषमा प्रगति किरण स्कुलका सन्तोष मल्ल तथा महिलामा गंगा जमुना स्कुलकी सुप्रभा थापा उदीयमान खेलाडी घोषित भए । गंगा जमुना स्कुलले अनुशासित टिमको उपाधि हात पारेको थियो ।
विजेतालाई कोन्ज्योसोम गाउँपालिकाका प्रमुख गोपीलाल सिङतानलगायतले पुरस्कृत गरेका थिए । त्यसअघि एकदिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले उद्घाटन गरेका थिए । प्रतियोगितामा १ सय ४० खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक भारदेउका प्रमुख दिलबहादुर घलानले जनाएका छन् ।
प्रतिक्रिया