सुनील र सुमनको जोडीलाई एल कप उपाधि

सुनील र सुमनको जोडीलाई एल कप उपाधि


नागबहालका सुनील शाक्य र सुमन शाक्यको जोडी ‘१०औँ एल कप ब्याडमिन्टन रनिङ शिल्ड प्रतियोगिता– २०७५’ को पुरुष युगलमा उपाधि जित्न सफल भएका छन् । सुनील र सुमनको जोडी आफ्नै क्लबका गत संस्करणका विजेता ससिन डंगोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै विजयी भएको हो ।

दथुलंका राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी बज्राचार्य र सन्दीप शाक्यको जोडी संयुक्त तेस्रो भयो । सुनील र सुमनले रनिङ ट्रफी, नगद ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै दोस्रो स्थान हात पार्ने ससिन र सुमितले नगद २० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । तेस्रो हुने राजु र सुमित तथा रत्नकाजी र सन्दीपले नगद १०–१० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र हात पारे ।

पाटन शंखमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा भएको यू– १५ एकल प्रतिस्पर्धामा पनि नागबहालका सहज शाक्यले बाजी मारे । सहजले आफ्नै क्लबका सुजल शाक्यमाथि २१–१५, १३–२१ र २१–१७ को जित निकाले । तेस्रो स्थानमा नागबहालकै श्रवण शाक्य तथा प्रयागपोखरीका पुजन चित्रकार रहे ।

यस्तै, मिक्स युगलतर्फ दथुलका राज बज्राचार्य र यास्ना डंगोलको जोडी सोही क्लबका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भयो । नागबहालका सुमन शाक्य र प्रकृति शाक्यको जोडी तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले तेस्रो स्थान प्राप्त गरे ।

यू–१५ र मिक्सतर्फका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः नगद १०, ७ र ४ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

भेट्रान्सतर्फको प्रतिस्पर्धामा मंगलबजारका वीरेन्द्रलाल श्रेष्ठ र किशोर व्यञ्जनकारको जोडी स्वर्ण प्राप्त गर्न सफल भयो । श्रेष्ठ र व्यञ्जनकारको जोडी नागबहालका सुदिम शाक्य र प्रवीण शाक्यको जोडीलाई २१–१७, २४–२२ ले पाखा लगाउन सफल भयो । प्रयागपोखरीका पूर्णभक्त चित्रकार र कमल राजकर्णिकार तथा ओकुबहालका कमल शाक्य र राजेश शाक्यको जोडीले कास्य पायो । विजयी तीन स्थानमा रहेकाले मेडल, ट्रफी र प्रमाणपत्रका साथै नगद १५ हजार, १० हजार र ५ हजार हात पारे ।

विजयी खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, ललितपुर प्रमुख जिल्ला अधिकारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, मोहनबहादुर शाहीलगायतले पुरस्कार वितरण गरेका थिए ।