सी जिनपिङ भन्छन्– चिनियाँ बजार अझ खुला गर्छौं

सी जिनपिङ भन्छन्– चिनियाँ बजार अझ खुला गर्छौं


राष्ट्रपति सी जिनपिङले चिनियाँ बजारको पहुँचलाई खुला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरूले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरू नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो ।

राष्ट्रपति सीले चीनले आयातीत वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनीकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक सम्पत्तिको उल्लंघन गर्नेविरुद्ध कडा कारबाही गर्ने बताए ।

‘हामी विश्वस्तरीय व्यावसायिक वातावरण निर्माण गर्नेछौँ,’ सांघाईमा आयोजित आयात मेलामा सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त भनाइ राखेका हुन् ।

उनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकाबीचको व्यापारयुद्धले विश्व अर्थव्यवस्थामा समस्या निम्त्याउने खतरा रहेकोसमेत औँल्याए । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिको नाम नलिई राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व खुला व्यापारमा समस्या आइरहेको बताए ।

राष्ट्रपति सीले अमेरिकी संरक्षणवाद, पृथकतावाद र झगडालु प्रवृत्तिको आलोचना गर्दै अरूको घरमा आक्रमण गर्नुअघि आफ्नै घरभित्रका समस्या सुल्झाउनुपर्नेमा जोड दिए । ‘आफ्ना समस्या ढाकछोप गर्न अरूमाथि औँला ठड्याउनु ठीक होइन,’ राष्ट्रपति सीले भने ।

बेइजिङले पहिलो वार्षिक चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई खुला बजारप्रतिको प्रतिबद्धताको एक संकेतका रूपमा लिएको छ । दुवै देशले एक–अर्का मुलुकका उत्पादनमाथि करवृद्धि गरेका कारण व्यापारिक तनाव शिखरमा पुगेको छ ।

सांघाई एक्स्पोमा जेनेरल मोटर्स, फोर्ड, माइक्रोसफ्ट, सामसुङ, वाल्मार्ट र टेस्लासमेतका कम्पनीहरूले भाग लिएका छन् । आयोजकहरूले संयुक्त राज्य अमेरिका, युरोप र एसियाली क्षेत्रसमेतका १३० मुलुकका तीन हजारभन्दा बढी विदेशी कम्पनीका सामग्री प्रदर्शनीमा राखिएको बताएका छन् ।

प्रदर्शनीमा रसियाका प्रधानमन्त्री दिमित्री मेडभेडेभ र पाकिस्तानका प्रधानमन्त्री इमरान खानसमेतका विभिन्न देशका सरकारप्रमुखहरू पनि सहभागी हुँदै छन् ।