सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मन्त्रीको गाडी दुर्घटना, तीन घाइते

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मन्त्रीको गाडी दुर्घटना, तीन घाइते


सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा.२झ ३१२५ नम्बरको स्कारपियो जिप गएराति कैलालीमा दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से.३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताए ।

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालबाट थप उपचारका लागि काठमाडौं सिफारिस गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बडैपुर सडक खण्डमा से.३प २४२० नम्बरको मोटरसाइकल र मन्त्री सोडारीको स्कारपियो जिप एक–आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।