दुई करोड ६० लाख कुलो निर्माण, १८० घरधुरी लाभान्वित

दुई करोड ६० लाख कुलो निर्माण, १८० घरधुरी लाभान्वित


पाल्पाको डमरा–भोटाहा सिँचाइ आयोजना सञ्चालनमा आएपछि यहाँका १८० घरधुरी कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । सिँचाइ सुविधा नहँुदा त्यसैखेर गएका, बाँझिएका जमिन अहिले सदुपयोगमा आएको छ ।

सरकारको सहयोग र स्थानीयवासीको जनश्रमदानमा डमरा–भोटाहा सिँचाइ आयोजना निर्माण भएपछि कृषकलाई ठूलो राहत पुगेको हो । पाल्पा र नवलपुरको सिमानामा पर्ने बौदीखोलाको पानीबाट डमरा–भोटाहा सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको हो ।

बाँझिएका जमिनमा सिँचाइ आयोजना सञ्चालनमा आएपछि कृषकले अहिले अन्नबाली, तरकारीबाली लगाउन थालेका छन् । बाकाखोलादेखि भोटाहाको हजारफाँटसम्मको पुरानो कुलोमा सिँचाइ आयोजनामार्फत बौदीखोलाको पानी मिसाइ केही स्थानमा मर्मतसम्भार गरेसँगै ८० हेक्टर जमिनमा बाह्रै महिना सिँचित हुँदै आएको छ । यही कुलोबाट डमराको माथिल्लो भागदेखि भोटाहासम्म सिँचाइ हुँदै आएको छ ।

यस सिँचाइ आयोजनाबाट डमरा र भोटाहाका ८० घरपरिवार, अर्मलाङ, पूर्वमलाङ, राहुवन, राईका र नवलपुर रकुवाका १०० गरी जम्मा १८० घरपरिवारमा प्रत्यक्ष सुविधा पुगेको डमरा–भोटाहा सिँचाइ आयोजनाका अध्यक्ष कुलबहादुर रानाले बताए ।

सिँचाइ आयोजनाबाट कुलोमा नियमित पानी आउन थालेपछि कृषकले कृषि उत्पादन बढाउँदै गएका छन् । सिँचाइ नहँुदा जीवनगुजारा चलाउन निकै समस्या भोगेका यहाँका कृषकलाई अहिले आफ्नै बाँझिएका जग्गामा सिँचाइ पर्याप्त पुगेपछि हरियाली कृषिबाली लगाएर आम्दानीको स्रोत बढाउन थालेको स्थानीयवासी चेतन पुलामीले बताए ।

खेतीयोग्य जमिन सिँचाइ अभावले बाँझिएर सुक्खाटारका रूपमा परिणत भएको जग्गालाई पुनः हरियाली देख्न पाउँदा निकै रमाइलो लागेको कृषक कृष्णप्रसाद थापा बताउँछन् । ‘पहिला पानी नभएपछि खेती गर्न छाडियो, अहिले कुलोमा नियमित पानी आइरहन्छ, खेतीपाती गर्न साह्रै सजिलो भएको छ,’ उनले भने ।

०६५ मा बौदीखोलादेखि बाकाखोलासम्म नयाँ कुलो निर्माण शुरु गरिएको हो । नौ किलोमिटर लम्बाइ रहेको कुलो सरकार र स्थानीयवासीको रु दुई करोड ६० लाख लागतमा निर्माण सम्पन्न भएको छ । पुरानो कुलोलाई पनि मर्मत गर्दै सिँचाइका लागि प्रयोग गरिएको छ । यसलाई पनि व्यवस्थित गरी नियमित रूपमा पानी सञ्चालन गर्न स्थानीय निकाय र प्रदेश सरकारबाट सहयोग जुटाउन लागिपर्ने निस्दी गाउँपालिका–१ का अध्यक्ष पूर्णबहादुर खाँणले बताए । पहिला सिँचाइ अभावले खेतीयोग्य जमीन बाँझिन थालेपछि केहीले गाउँ नै छाडेर अन्यत्र बसाइँ सरी गएका थिए ।