पूर्वका तीन स्थानीय तहमा फाल्गुनन्दजयन्तीमा सार्वजनिक बिदा

पूर्वका तीन स्थानीय तहमा फाल्गुनन्दजयन्तीमा सार्वजनिक बिदा


झापाको दमक नगरपालिकाले आइतबार फाल्गुनन्दजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्दजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिए । ‘राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हौँ,’ ओलीले भने, ‘इलामको चुलाचुली गाउँपालिकाले पनि बिदा दिने निर्णय गरेको छ ।’

त्यस्तै, ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्दजयन्तीका दिन सार्वजनिक बिदा दिने गरेको दमक नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद तिम्सिनाले जानकारी दिए । ‘फाल्गुनन्दको जन्मदिनमा किराँत धर्मावलम्बीहरूले बिदा दिन माग गर्दै आएका छन्,’ उनले भने, ‘धर्मगुरु र किराँत धर्मावलम्बीका सम्मान लागि पनि बिदा दिइएको हो ।’

वि.सं. १९४२ कात्तिक २५ गते इलाम जिल्लाको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो ।

किराँत धर्मका महागुरु तथा समाजसुधारक फाल्गुनन्द लिङदेनको २००५ चैत २२ गते निधन भएपछि विभिन्न किराँत संघसंस्थाले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्दजयन्ती मनाउँदै आएका छन् । उनलाई सरकारले ०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनी नेपालका १६औँ राष्ट्रिय विभूति हुन् । उनको फोटोअंकित हुलाक टिकटसमेत प्रकाशन हुँदै आएको छ ।