धदिङमा सवारी दुर्घटना : एकको मृत्यु, ३१ घाइते

धदिङमा सवारी दुर्घटना : एकको मृत्यु, ३१ घाइते


पृथ्वीराजमार्गको बेनिघाटरोराङ गाउँपालिका–३ मालिंगामा दुईवटा सवारीसाधन एक–आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.७ख ५२८१ नम्बरको यात्रुबाहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१प ९७७ नम्बरको पर्यटक बस एक–आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

मृत्यु हुनेमा चितवन जिल्ला पिप्ले निवासी ४० वर्षीय ईश्वर भण्डारी रहेका छन् । उनी ना.७ख ५२८१ नम्बरको बसचालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेहरूमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकामा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ ।