पार्टी अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बलियो गठबन्धन कायम भए पनि नेकपा एमालेको अध्यक्ष बन्ने अवसर पार्टीका सर्वाधिक प्रभावकारी मानिएका नेता केपी शर्मा ओलीलाई मिलेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली मधव नेपालको भन्दा पैंतालिस बढी मत ल्याएर तथा महासचिवमा ईश्वर पोखरेल बाइस मतान्तरले विजयी हुनुभएको हो । महासचिवसँगै अन्य पदाधिकारीहरुमा पनि ओली पक्षकै बढी विजयी भएका छन् । वामदेव गौतम, विद्या भण्डारी, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको विजयले केपी ओलीलाई काम गर्न सजिलो बनाउने स्पष्ट गरेको छ । ओलीको विजयसँगै नेकपा एमाले नयाँ युगमा प्रवेश गर्ने ठानिएको छ । अब पुरानो नेताहरूको हातबाट कहिल्यै नफर्कने गरी नेतृत्व नयाँमा सरेको छ ।
लामो समयदेखि तटस्थ रहनुभएका झलनाथ खनाल महाधिवेशन सुरु भइसकेपछि माधव नेपालको पक्षमा ‘एक्स्पोज’ हुनुभएको थियो । यद्यपि, खनाल र नेपालबीच गुप्त गठबन्धन भने निकै अघि नै कायम भएको हो र संसदीय दलको नेता चयन गर्ने क्रममा उक्त गठबन्धन झनै कसिलो बनेको महसुस आमजनताले समेत गरेका थिए । मौन रहेरै माधव नेपाललाई सहयोग गरिरहनुभएका झलनाथ खनालमाथि ‘खुलेर आउँदा अझै सहयोग पुग्ने’ भन्दै दबाब परेपछि उहाँ माधवको पक्षमा खुल्न ‘बाध्य’ हुनुभएको थियो । आफ्ना मान्छेहरूलाई सुरुदेखि नै माधव नेपालतिर लगाएर आफू मात्र ‘तटस्थ’ देखिने प्रयत्न गरिरहनुभएका खनाललाई ‘एक्स्पोज’ हुन माधव नेपाल स्वयम्ले पनि दबाब दिनुभएको बताइन्छ । २०३९ सालमा तत्कालिक मालेका महासचिव सीपी मैनालीलाई हटाएर महासचिव बनेयता झलनाथ खनाल र माधव नेपालबीच ‘गजबको दोस्ती’ रहँदै आएको छ । ०४६ सालमा आफ्नै अद्वित्तीय क्षमताका कारण मदन भण्डारीले पार्टीको सर्वोच्च पदमा पुग्ने अवसर पाउनुभएको भए पनि भण्डारीको निधनपश्चात् माधव र झलनाथले पालैपालो एमालेको नेतृत्व सम्हाल्दै आउनुभएको थियो । पन्ध्र वर्षदेखि पार्टीको प्रमुख कार्यकारी पदमा रहनुभएका माधव नेपालले ०६४ को संविधानसभा निर्वाचनमा पराजित भएपछि महासचिव पद झलनाथलाई हस्तान्तरण गर्नुभएको थियो र बुटवलमा सम्पन्न महाधिवेशनमा अध्यक्ष बन्न पनि नेपालले आफूलाई ‘तटस्थ’ देखाउँदै झलनाथलाई नै सहयोग पु¥याउनुभएको थियो । केपी ओलीलाई संसदीय दलको नेता बन्नबाट रोक्न भएको प्रयास असफल भएपछि ओलीलाई अध्यक्ष बन्न नदिन उहाँहरूबीचको गठबन्धन अझै कसिलो बनेको थियो । दुई प्रमुख नेताहरू एकातिर हुँदा पनि अध्यक्ष ओलीको विजय हुनुले उहाँ एमालेभित्र सर्वाधिक बलियो हुनहुँदोरहेछ भन्ने स्पष्ट गरेको छ ।
ओलीको विजयसँगै झलनाथ खनाल र माधव नेपालको राजनीतिक भविष्य अन्धकारमय बन्न पुगेको छ । उहाँहरूबाट खोसिएको नेतृत्व अब फर्किएर उहाँहरूकै हातमा जानसक्ने सम्भावना क्षीण बनेको छ । एमालेमा युवापुस्ताका केही नेताहरू राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने हैसियतमा देखिएका छन् । पार्टी निर्वाचनमा युवा नेताहरूले प्राप्त गरेको मतले पनि एमाले अब पुरानातर्फ नफर्कने कुराको स्पष्ट सङ्केत गर्दछ । त्यसमाथी केपी ओली स्वयम् पनि आफू एक कार्यकाल अध्यक्ष भइसकेपछि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने पक्षमा हुनुहुन्छ । पार्टीमा बेग्लै प्रभाव भएका कारण केही युवा नेताहरूलाई कुन पक्षबाट उम्मेदवार बनेका थिए भन्ने कुराको हेक्कासमेत नराखी प्रतिनिधिहरूले मतदान गरेबाट पनि ओलीपछिको नेतृत्व कतातिर जाँदैछ भन्ने बुझ्न सकिन्छ ।
मतान्तर कम भए पनि ओलीको विजयले एमालेको सोच, कार्यव्यवहार र कार्यप्रणालीमा परिवर्तन आउने विश्वास गरिएको छ । अतिवादप्रति सधैं कठोर देखिँदै आउनुभएका केपी ओली र उहाँको पक्ष प्रजातन्त्रप्रति पूर्ण प्रतिबद्ध भएकोले नेपालको राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने निश्चित छ । राष्ट्र र प्रजातन्त्रका सवालमा कसैसँग कुनै प्रकारको सम्झौता गर्न नचाहने केपी ओलीको विजयले संविधानसभाबाट लोकतान्त्रिक संविधान बन्ने विश्वास बढाएको छ । झलनाथ खनाल र माधव नेपाल भने आफ्नो अनुकुलताका निम्ति अतिवादीहरूसँग गठबन्धन गर्नसमेत पछि नपर्ने नेताका रूपमा चिनिनुहुन्छ । उहाँहरूको दोहोरो चरित्रकै कारण विगतमा देशको राजनीतिले सुस्पष्ट मार्गदर्शन प्राप्त गर्न सकेको थिएन ।
केपी ओली र माधव नेपाल दुबैले आ–आफ्ना टीम समावेसी बनाएका भए पनि मधेशी समुदायका नेताहरू पदाधिकारीभित्र नपरेकोले एमालेलाई भविष्यमा अप्ठ्यारो पर्न सक्ने देखिएको छ । प्रजातान्त्रिक अभ्यासबाट चुस्त नेतृत्व चयन गर्न एमाले कटिबद्ध रहेको भए पनि अहिलेको अवस्थामा तराइवासी समुदायका कुनै पनि नेता पदाधिकारीमध्ये निर्वाचित हुन नसक्नुको पीडा एमालेले व्यहोर्नु पर्ने सम्भावना छ । त्यसैगरी अर्को पक्षबाट उम्मेदवार बनेर राम्रो मत प्राप्त गर्नेहरूलाई उपेक्षा गरेर केपी ओली अघि बढ्न सम्भव मानिएको छैन । पक्ष–विपक्षबीच खिचिएको रेखा मेट्दै सन्तुलित ढङ्गले पार्टीलाई अघि बढाउनु ओलीको निम्ति अर्को ठूलो चुनौति हुनसक्ने देखिएको छ । झलनाथ र माधवको मुख हेरेर निर्णय लिनुपर्ने अवस्थामा केपी ओली नरहनुभए पनि अहिले माधव पक्षबाट उम्मेदवार भई पराजित भएका युवा नेताहरूलाई अनदेखि गर्न हुने अवस्था नरहेकोतर्फ भने ओली सचेत हुनुपर्ने आवश्यकता छ ।
जे होस्, ओलीको विजयले नेकपा एमालेलाई स्थिर, स्पष्ट विचार, दृढ अडानसहितको प्रजातन्त्र पक्षधर पार्टीका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया