पत्रकार खसोग्गीको शव एसिडमा हाली नष्ट गरिएको हुनसक्ने

पत्रकार खसोग्गीको शव एसिडमा हाली नष्ट गरिएको हुनसक्ने


गत महिना टर्कीस्थित साउदी अरबको महाबाणिज्यदूतावासमा भएको पत्रकार जमाल खसोग्गीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रब्य सामग्री टर्कीले वासिङ्टन र रियादलाई बुझाएको त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोआनले बताएका छन् । सम्बन्धित श्रब्य सामग्री साउदी अरब र वासिङ्टन, जर्मनी, फ्रान्स र बेलायतलाई उपलब्ध गराइएको एर्दोआनले शनिबार टेलिभिजनमार्फत् प्रशारित सम्बोधनमा बताएका हुन् ।

राष्ट्रपति एर्दोआनले भने, ‘उनीहरूले महाबाणिज्य दूताबासमा भएको विवाद उनीहरूले सुनेका छन् । थाहा पाएका छन् । तर उक्त सामग्रीबारे सहायक लिखित सामग्री भने दिइएको छैन ।’

पत्रकार खसोग्गीलाई अन्तिम पटक गत अक्टोबर २ मा टर्कीमा रहेको साउदी अरबको महाबाणिज्य दूतावासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो । उनलाई सोही दिन हत्या गरिएको बताइँदै आएको छ ।

५९ वर्षीय खसोग्गीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारे पनि बढ्दो अन्तर्राष्ट्रिय दबाबपछि महाबाणिज्यदूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो ।

एर्दोआनले उक्त घटनामा साउदी अरबका सबैभन्दा उच्च तहकोको नै निर्देशन रहेको आरोप लगाएका छन् तर टर्कीका केही अधिकारीले भने उक्त घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको सम्लग्नता रहेको हुनसक्ने जनाएका छन् ।

टर्कीको सञ्चारमाध्यमहरू तथा अधिकारीहरूले उक्त श्रव्य सामग्री अङ्रासँग रहेको बताएका र उक्त सामग्री अमेरिकी गुप्तचर संस्था सिआइएका प्रमुख जिना हास्पेलको टर्की भ्रमणका सन्दर्भमा अमेरिकालाई उपलव्ध गराइएको थियो । तर उक्त सामग्री रहेकोबारे वासिङ्टनले कहिल्यै पुष्टि गरेको छैन ।

खसोग्गीको हत्या भएको साउदी अरबले स्वीकार गरेपनि उनको मृत शरीरलाई मृत्यु भएको एक महिनापछिसम्म पनि भेटिएको छैन । परिवारले आफ्ना अविभावक पत्रकार खसोग्गीको मृत शरीर दिन सरकारसँग पटक पटक आग्रह गरेका भएपनि एर्दोआनका सल्लाहाकार यासिन आक्तेले गत हप्ता शरीरलाई एसिडमा हाली नष्ट गरिएको हुनसक्ने बताएका छन् ।