नगरक्षेत्रको फोहोरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित

नगरक्षेत्रको फोहोरमैला खोलामा फाल्दा वातावरण दुर्गन्धित


फोहोर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट संकलित फोहोरमैला नजिकैको खोलामा फ्याँकिँदै आएको छ ।

गोलबजार नगरपालिकाले बजार क्षेत्रबाट दिनहुँ संकलन हुने फोहोरमैला गोलबजारनजिकै रहेको मैनावती खोलामा फाल्ने गरेकाले त्यस क्षेत्रको वातावरण दुर्गन्धित हुनाका साथै खोला किनारमा फोहोरको थुप्रोसमेत बढ्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको मैनावती खोलाको पुलनजिक दिनहुँ अव्यस्थित तरिकाले फोहोर फ्याल्दा खोलासँगै रहेको विद्यालय र गाउँबजार प्रदूषित बन्दै गएको स्थानीयवासीले बताएका छन् । खोलामा फ्याँकिने गरेको फोहोरका कारण बजार क्षेत्र तथा राजमार्गबाट आवतजावत गर्ने यात्रुसमेत नाक थुनेर हिँड्ने गरेको स्थानीयवासी विजयकुमार सिंह बताउँछन् । फोहोरको उचित व्यवस्थापन नहँुदा विभिन्न किसिमका रोगसमेत फैलिने सम्भावना रहेको सिंहको भनाइ छ ।

फोहोर व्यवस्थापन गरी कुहिने फोहोरबाट मल उत्पादन गरी नगरपालिका तथा गाउँपालिकामा समेत आयमा वृद्धि हुन सक्ने अवस्था हुँदाहुँदै पनि नगरपालिकाले त्यसतर्फ उचित ध्यान नदिँदा स्वास्थ्यको जोखिम बढेको सिरहाका सरसफाइदूत धीरेन्द्रकुमार साह बताउँछन् ।

केही दिनअघि गोलबजार नगरपालिकाले सूचना जारी गर्दै आफूखुसी फोहोर नफाल्न र फालेको भेटिए कारबाही हुने बताए पनि नगरपालिकाले आफँैले बनाएकोे ‘समृद्ध र स्वच्छ’ नगरको नारालाई लत्याउँदै खोलामा सीधैँ फोहर फ्याल्दा आफूहरू समस्यामा परेको स्थानीयवासीको कथन छ ।

यता गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले फोहर फ्याल्ने कुनै डम्पिङसाइट नहँुदा अस्थायी रूपमा मात्र खोला किनारमा फोहोरमैला व्यवस्थापन गरिँदै आएको बताउँदै डम्पिङसाइट निर्माणका लागि जग्गा र बजेटसमेत व्यवस्थापन भइसकेकाले छिट्टै निर्माण हुने जानकारी दिए ।