अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने


बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन् । रङ्गशालाको आज (९ कात्तिक) यहाँ अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रङ्गशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पारे ।

उनले भने, ‘प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रङ्गशाला निर्माण सुरु गरिएको रहेछ । बहुवर्षीय योजनालाई उच्च प्रथामिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिने छ । हाम्रो चलन के छ, भने बहुवर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेपछि त्यस्तो नगरी तीन वर्षमा सिध्याउने हो भने त्यसअनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु ।’ बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उनले बताए।

पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उनको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उनले जानकारी दिए । अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताइन् । यो नमूना परियोजनाको रुपमा काम भइरहेको र कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसर बाँकी नराख्ने उनको भनाइ छ ।

गत असार २३ गते रङ्गशाला निर्माणका लागि सम्झौता भइ निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इञ्जिनीयर सन्तोष आचार्यका अनुसार रङ्गशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुईपक्षीय सम्झौता भएको हो । रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको छ । एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ ।

photo: rss