फेवातालको लयमा तालपोखरा

फेवातालको लयमा तालपोखरा


कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुंगा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको संख्यामा वृद्धि आएको हो ।

तालपोखरामा डुंगा सयर गर्दा फेवातालको झल्को मेटाएको पाल्पा बेगनासकाली गाउँपालिका आर्यभन्ज्याङकी नारायणी भट्टराईले बताइन् । तालपोखराको भौतिक पूर्वाधार अगाडि बढ्दै गएको खण्डमा फेवातालले जस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउन सक्ने उनी बताउँछिन् ।

करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएको कृत्रिमताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको अहिले चाप बढ्दै गएको हो । दिनहुँ दुई सयभन्दा बढी पर्यटकले डुंगा सयर गर्ने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउँछन्् ।

फेवातालको स्वरूपमा निर्मित तालपोखरामा डुंगा सयर गर्ने, तालको बीचमा रहेको जलेश्वर महादेवको मूर्तिमा पूजा गर्ने, फोटो खिचाउनेको चहलपहल रहेको छ ।

‘डुंगा सयर गरेर ताल वरिपरि घुम्दै आनन्द लिन आउनेको संख्या दिनानुदिन बढ्दै जाँदा आम्दानी पनि राम्रै हुँदै गएको छ,’ देवकोटाले बताए ।

साउनयता पाँच हजार पर्यटकले डुंगा सयर गरेको र दुई लाख ५० हजार रुपैयाँबराबरको आम्दानी भएको छ । ०७४ माघ २४ गतेदेखि तालपोखरामा डुंगा सञ्चालन शुरु गरिएको हो । यहाँ नियमित रूपमा दुईवटा डुंगा सञ्चालनमा छन् ।

अहिलेसम्म डुंगा सञ्चालनबाट आठ लाख रुपैयाँबराबरको आम्दानी भएको समितिका सचिव देवकोटाले जानकारी दिए । डुंगाबाट उठेको आम्दानीको ४० प्रतिशत रकम डुंगा चलाउनेलाई दिने व्यवस्था गरिएको छ । प्रतिव्यक्ति रु. ५० टिकट कायम गरिएको छ ।

आम्दानीको स्रोत बढाउन तालपोखरामा माछाका भुरासमेत राखिएको छ । अहिले १६ हजार माछा यहाँ रहेका छन् । माछा बिक्रीबाट करिब २० लाख रुपैपाँबराबरको आम्दानी गर्ने समितिको सोच छ ।

कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । पार्कबाट पनि राम्रै आम्दानी गर्ने वातावरण मिलेको छ । अहिलेसम्म पार्कबाट रु. २५ हजार बराबरको आम्दानी भएको छ । पार्क प्रवेश शुल्क प्रतिव्यक्ति रु. पाँच कायम गरिएको छ ।

मासिक रु. ५० हजार खर्च हुने गरेको छ । दानपेटिकाबाट रु. एक लाखभन्दा बढी रकम संकलन भएको छ । तालपोखराको भौतिक पूर्वाधारमा हालसम्म रु. एक करोड २० लाख रकम खर्च भइसकेको छ भने बाँकी रु. एक करोडबराबरको रकम लाग्ने अनुमान छ । अहिलेसम्म पाल्पा, स्याङ्जा, तनहुँ, नवलरासी, रूपन्देही, कास्की, चितवन, नेपालगञ्ज, इलाम, अछामलगायत थुप्रै जिल्लाका आन्तरिक पर्यटक भित्रिसकेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताए ।

‘निकट भविष्यमा पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुरमा भित्र्याउने योजनाका साथ काम गरिरहेका छौँ,’ उनले भने, ‘तालपोखराको विकासका लागि स्थानीयवासीले महायज्ञ सञ्चालनबाट रकम संकलन गरी ०६६ बाट यसको काम अगाडि बढाएका हुन् ।

रामपुर नगरपालिकाले आव ०७३–७४ मा एक लाख २५ हजार, ०७४–७५ मा २८ लाख र ०७५–७६ मा रु. २० लाख रकम भौतिक पूर्वाधारका निम्ति सहयोग गरेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिए । सरकारले हालै मात्र एक सय पर्यटकीय क्षेत्रअन्तर्गत तालपोखरालाई पनि पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गरेको छ ।
रासस